१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

राजपा चुनावमा होमियो, शुक्रबार देखि उम्मेदवार चयन गर्ने



काठमाडौं, ८ भदौ ।
राष्ट्रिय जनता पार्टी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावका लागि भोलि शुक्रबारदेखि उम्मेदवार चयन सुरु गर्ने भएको छ । बिहीबार सकिएको पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै राजपाले चुनावका लागि १३ गतेभित्र पार्टीका तल्ला निकायलाई भनेको जानकारी दिएको हो । १३ गतेसम्म सर्वसहमत उम्मेवार चयन नभइका ठाउँमा अध्यक्ष मण्डलले टुंग्याउने नेता राजेन्द्र महतोले बताउनुभयो । संविधान संशोधन नभइ चुनावमा नजाने अडान राख्दै राजपा संशोधन विधेयक फेल भएपछि त्यही मुद्दा लिएर चुनावमा जान तयार भएको छ ।
पार्टी निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महन्थ ठाकुरले ९० प्रतिशत जनताले समर्थन गरेको संविधान संशोधन गर्ने पक्षमा ६४ प्रतिशत सांसद उभिनु आफूहरुको जित भएको बताउनुभयो ।
राजपाले उम्मेद्वार चयनका लागि आठ जिल्लामा केन्द्रीय स्तरका नेता नै खटाउने जानकारी दिएको छ । अध्यक्ष ठाकुरका अनुसार उम्मेदवार चयनका लागि सप्तरीमा नरसिंह चौधरी, सिरहामा गजाधर यादव, महोत्तरीमा गोविन्द चौधरी, धनुषामा अरुण सिंह, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, बारामा मालामती राना थारु र पर्सामा विजय गुप्तालाई खटाइएको छ । राजपाले स्थानीय चुनावमा साइकल चिन्ह लिने भएको छ ।
छाता चुनाव चिह्न पाउनुपर्ने माग राख्दै आए पनि निर्वाचन आयोगले अस्वीकार गरेपछि राजपाले तत्कालिन राष्ट्रिय मधेस समाजवादी पार्टीको साइकल चिन्ह लिएर चुनावमा जाने भएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  ४ : ५३ बजे