१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

अध्यक्ष र सदस्यबीचको विवादले गाउँसभा स्थगित



अर्घाखाँची, भदौ १२ ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाको पहिलो गाउँसभा ५ नम्बर वडामा देखिएको विवादका कारण स्थगित भएको छ । वडा अध्यक्ष र सदस्यहरुबीच योजना छनौटमा विवाद हुँदा गाउँपरिषद स्थगित भएको हो । ५ नम्बर वडाका अध्यक्ष शोभाखर भुषाल र चारजना वडा सदस्यले छुट्टाछुट्टै योजना गाउँपालिकामा पेश गरेका छन् ।
गाउँपालिकामा दुई वटा पक्षबाट योजना पेश भएको हुँदा दुवै पक्षलाई मिलेर योजना ल्याउन आग्रह गर्दै केही समयका लागि बजेट बिनियोजनको पाटोलाई स्थगित गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनुभयो । ५ नम्बरका वडा अध्यक्ष शोभाखर भुषालले योजनाहरु प्रस्ताव गर्दा सदस्यसँग कुरा नमिलेको उल्लेख गर्नुभयो । वडा सदस्य डालबहादुर चौहानले वडा अध्यक्षले एकलौटी रुपमा टोलगत भन्दा पनि व्यक्तिगत योजनाहरु अगाडि बढाएको हुँदा विवाद भएको बताउनुभयो ।
मालारानी गाउँपालिका वडा नम्बर ५ मा एमाआवादी र कांग्रेस गठबन्धनबाट वडा अध्यक्ष जिते पनि चारजना बहुमत सदस्य एमालेले जितेको छ । गाउँपालिकाका ९ वटा वडामा ८० लाख बजेट दिने निर्णय समेत भएको छ । यसै बजेट भित्रका योजना छनौटमा सहमति हुन नसकेको हो । जसले गर्दा गाउँसभा नै स्थगित हुन पुगेको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ४ : ५७ बजे