१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भारतमा संविधान संशोधनबारे बोल्नु अस्वभाविक होइनः प्रधानमन्त्री देउवा



काठमाडौं, भदौ १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा आफूले संविधान संशोधनको विषयमा कुरा उठाउँदा केही दलले अनावश्यक विवाद झिकेको बताउनुभएको छ ।
भारत भ्रमणबारे सोमबार व्यवस्थापिका संसदको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री देउवाले संविधान संशोधन नेपालको आन्तिरिक मामला भएकाले आफूले कसैसँग सम्झौता नगरेको दावी गर्नुभयो । संविधानको सर्वस्वीकार्यता बढाउनु र कार्यान्वयन गर्नु राष्ट्रिय एजेन्डा भएको भन्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय प्राथमिकताको एजेण्डाबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु स्वभाविक विषय भएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनको सम्बन्धमा छिमेकी वा अन्य कुनै देशबाट हुने हस्तक्षेप स्वीकार्य नभएको पनि बताउनुभयो ।
स्वभाविक विषयलाई लिएर केही राजनीतिक दल र सञ्चारमाध्यमले अनावश्यक टिप्पणी गरेको भन्दै प्रधानमन्त्री देउवाले त्यसमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । भारत भ्रमणका क्रममा नेपालको हितका लागि ८ वटा सम्झौतामा हस्ताक्षर गरेको देउवाले संसदलाई जानकारी गराउनुभयो ।
तराइको डुवान र बाढीको दीर्घकालिन समाधानको लागि सीमामा विज्ञ टोली खटाउने विषयमा बिहारका मुख्यमन्त्री नितिशकुमारसँग सहमति भएको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । सप्तकोशी उच्च बाँध र सुनकोशी डाइभर्सनको पनि डिपिआर बनाउने सहमति भएको देउवाले संसदलाई जानकारी गराउनुभयो ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  १० : ५१ बजे