१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

यो वर्ष चुनावी वर्षः प्रचण्ड



विराटनगर, भदौ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन दललाई एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै उहाँले पहिलो र दोस्रोचरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयनमा बल पुगेको र तेस्रोचरणको स्थानीय निर्वाचनमा सबै दल सहभागी हुने भएपछि उत्साहका साथ निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
यो वर्ष ‘चुनावी वर्ष’ भएको प्रशंग उल्लेख गर्दै उहाँले प्रदेश र संघीय संसद्को निर्वाचन निर्धारित समयभित्रै सम्पन्न हुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले संविधान गतिशील विषय भएकाले आवश्यकतानुसार संशोधन हुने जाने उल्लेख गर्दै अहिलेको अवस्थामा राष्ट्रिय जनता पार्टीसमेत सहभागी भएर संविधान संशोधनको प्रक्रिया हाललाई टुंगो लागेको र संसदीय निर्वाचनपछि बन्ने संसद्ले कुन(कुन विषयमा संविधान संशोधन गर्ने विषयको समाधान गर्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा भारत भ्रमणको समयमा दिनुभएको अभिव्यक्तिको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले आफूलाई अधिकारिक रुपमा जानकारी नभएको र अहिले संविधान संशोधनको विषय असान्दर्भिक भएको बताउनुभयो ।
कोसी उच्च बाँधका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो, “संयुक्त वक्तव्य आफूले हेरेको र त्यो राख्नुपर्ने आवश्यक थिएन्, यस विषयमा प्रधानमन्त्री लगायतसँग छलफल गर्नेछु ।” रासस

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  १० : ५४ बजे