१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

नीतिगत रुपमै भ्रष्टाचार मौलायो सभापति उपाध्याय



रुपन्देही, १३ भदौ ।
व्यवस्थापिका संसदको लेखा समिति सभापति डोरप्रसाद उपाध्यायले नेपालमा नीतिगत रुपमै भ्रष्टाचार हुने गरेको बताउनु भएको छ । रिपोर्टर्स क्लव रुपन्देहीले गरेको साक्षत्कारमा बोल्दै सभापति उपाध्यायले भ्रष्ट कर्मचारी र राजनीतिक नेतृत्वको मिलेमतोमा बजेट निर्माण, योजना छनौट, ठेकेदार छनौट हुँदै बिकास निर्माणमा भ्रष्टाचार हुने गरेको जिकीर गर्नु भयो ।

नलसिङ गाड, एनसेल, राजश्व छुट, आयल निगम जग्गा खरिद प्रकरणमा पनि राजनीतिक नेतृत्वको संलग्नता र संरक्षणमा आर्थिक अनियमितता भएको पाइएको तीतो अनुभव स्मरण गर्दै उपाध्यायले अब पनि राजनीतिक नेतृत्व नसच्चिए मुलुकको बिकास सम्भव नहुने धारणा राख्नु भयो ।
आयोजनाको समयावधि लम्ब्याएर लागत बढाउने र बाडीचुडी खाने प्रबत्ति हाबी भएको बताउदै उहाले सार्वजनिक खरिद ऐन र ठेक्का प्रणालीमा समेत परिमार्जन गर्नुपर्ने आवस्यकता औंल्यायाउनु भयो ।

उपाध्यायले सानादेखि ठूला बिकास आयोजनाहरुमा कतै न कतै र कुनै न कुनै किसिमले राजनीतिक दलका शीर्ष नेतृत्वको संलग्नता हुने गरेको पाइएकाले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्व नै सच्चिनुपर्ने बिचार व्यक्त गर्नु भयो ।

देशभरका २१ वटा राष्ट्रिय गौरवमो आयोजना स्थलगत निरीक्षणका लागि लेखा समितिको टोली अहिले रुपन्देहीमा छ । टोलीले सम्बन्धित आयोजनास्थलमै निरीक्षणपछि सार्वजनिक सुनुवाईसमेत गर्ने साक्षात्कारमा समितिका सभापति उपाध्यायले जानकारी दिनुभयो । टोलीले सातै प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजनाको स्थलगत निरीक्षण गर्नेछ ।

यसैबीच इतिहासमै पहिलो पटक संसदको लेखा समितिको बैठक पहिलो पटक राजधानी बाहिर हुन लागेको समितिका सभापति उपाध्यायले जानकारी दिनुभयो । सिंहदरबारको अधिकार गाउ गाउँमा र्पुयाउने संघीय संरचना कार्यान्वयनका लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको समितिका सभापति उपाध्यायको भनाइ छ । बैठक भदौ २१ गते बस्नेछ ।

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  १ : ४७ बजे