१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

महाकालीमा बन्ने चार लेन पुलको शिलन्यास प्रधानमन्त्रीले आज गर्ने



कैलाली, भदौ १५ । नेपाल–भारत जोड्ने महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको बिहीबार शिलान्यास गरिँदै छ । आठ सय मिटर लम्बाइ रहेको पुलको प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम छ ।
पुल शिलान्यास कार्यक्रमको तयारीका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर, यातायात राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुख लगायत बुधबार नै यहाँ आएका छन् ।
पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ महाकाली नदी किनारमा आवश्यक तयारी गरिसकेको छ । महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले पुलको शिलान्यासका लागि प्रधानमन्त्री देउव बिहीबार आउने कार्यक्रम तय भइसकेको बताउनुभयो ।
चार लेनको पुलको ठेक्का कुमार सिएफइसी जेभीलाई परेको छ । महाकालीमा चार लेनको पक्की पुल बनेपछि प्रदेश नम्बर ७ को व्यापार र पारवहनको ढोका खुल्ने विश्वास लिइएको छ । यस क्षेत्रका उद्योगी व्यवसायीले पुल निर्माण भएमा देशकै प्रमुख नाकाका रुपमा बिस्तार हुने विश्वास लिएका छन् ।
पुल निर्माणसँगै औद्योगिक क्षेत्र स्थापना र सुख्खा बन्दरगाह निर्माणको कामले पनि प्राथमिकता पाउने आशा गरिएको व्यवसायीले बताएका छन् । २१ दशमलव ६ मिटर चौडाई रहने पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  ३ : ५९ बजे