१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

२४ सै घण्टा सेवामा हाजिर एसपीको बचन



धनराज कटेल, कैलाली १५ भाद्र ।
सशस्त्र प्रहरी बल उग्रतारा गण टीकापुरका नव नियुक्त गणपति (एसपी) जनक बहादुर बोहराले जनताको सुरक्षाका लागि २४ सै घण्टा सेवामा हाजिर हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बल उग्रतारा गणले बिहिबार टीकापुरमा आयोजना गरेको भेटघाट तथा परीचयात्मक कार्यक्रममा बोल्दै गणपति बोहराले प्रहरी जनताको संगठन भएकाले आफूहरुलाई परिचालन एवं निर्देशन दिने जिम्मा जनताको भएको बताउनुभयो ।

उहाँले कुनै ठाउमा सुरक्षा संवेदनशीलता भए आफूहरुलाई तुरुन्त सूचना दिएर सहयोग गर्न समेत आग्रह गर्नुभयो । एसपी बोहराले आफूहरु दिनरात नभनी जुनसुकै समयमा पनि आवश्यकता अनुसार जनताको सुरक्षामा कटिबद्ध रहने प्रतिवद्धता समेत जनाउनुभयो ।

यसैबीच कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख इनेस्पेक्टर मान बहादुर बिश्वकर्माले यहाका तस्करहरुबाटै प्रहरीको किनबेच भइरहेको खुलासा गर्नुभएको छ । इनेस्पेक्टर बिश्वकर्माले आफू सरुवा भएर ईलाका प्रहरी कार्यालय टीकापुरका आएको ५ दिनको अवधी भित्रमा टीकापुरका केहि काठ तस्करले आर्थिक प्रलोभन देखाएर आफूलाई काठ तस्करीमा सहयोग गर्न अनुरोध गरेको, एक दुई जनाले अबैधानिक रुपमा तास खेलाउनमा समेत सहयोग गर्न अनुरोध गरेको खुलासा गर्नु भएको हो ।

यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले भारती सिमावर्ती नाकाबाट अवैधानिक रुपमा भित्रिएको कुखुरा, भन्सार नतिरी ल्याइएको अन्य सामाग्री, विषादी युक्त तरकारी, काठ तस्करी, लागूऔषध नियन्त्रणमा कडाई गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका थिए । कार्यक्रममा टीकापुर स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधी, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  २ : ५१ बजे