१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नवलपरासीमा लोकतान्त्रिक फोरममा खैलाबैला !



नवलपरासी, २१ भदौ ।
नेपाल लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य उमेश यादव सहित जिल्ला कार्यसमिति, क्षेत्रीय कार्य समिति, इकाई कार्य समितिका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

पार्टीका केन्द्रिय सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेसँगै फोरम नवलपरासीलाई झट्का लागेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकै मुखमा कार्यकर्तासहित पार्टी परित्याग गरेको यादवले मंगलबार एक विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।

प्रतापपुर गाउँपालिका ७ बस्ने यादव पार्टीको कार्यशैली प्रति असन्तुष्ट रहेको र यो बिषयमा केन्द्रिय समितिलाई समेत जानकारी गराउँदा नेतृत्व तहले पनि केही सुनवाई नगरेकोले पार्टी परित्याग गर्नुपरेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

यादवले कम्तीमा जिल्लाबाट एक हजार नेता कार्यकर्ताले पार्टी परित्याग गरेको दावी समेत गर्नुभएको छ । के – कती जना , को–को भन्ने आधिकारिक जानकारी भोली दिने समेत उहाँले बताउनु भयो ।

नेपाली कांग्रेसमा प्रवेश गर्ने कुरा बाहिर आएको छ भन्ने प्रश्नमा उहाँले उचित स्थान दिए प्रवेश गर्न सक्ने प्रतिक्रिया दिनु भएको छ ।

यता नेपाल लोकतान्त्रिक फोरमको आज नै बसेको जिल्ला कार्य समितिको बैठकले नेता यादवलाई साधरण सदस्य समेत नरह्ने गरि पार्टीबाट निष्कासन गरेको एक विज्ञप्ती मार्फत जनाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष सुवासचन्द्र गिरीद्धारा जारी विज्ञप्तीमा नेता यादवसहित जिल्ला सदस्य बिस्मील्लाह अन्सारीलाई पार्टीबाट निष्कासन गरेको जनाइएको छ । नेता यादव र अन्सारीलाई पार्टीको नीति र सिद्धान्त विपरित काम गरेकाले निष्कासन गरिएको बताईएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : २३ बजे