६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कृष्णनगर नगरसभा के मा केन्द्रित हुनुपर्छ ? (रिजन सहित)



मायादेवी अनलाइन, कपिलवस्तु, २८ भाद्र ।
कृष्णनगर नगरपालिकाको प्रथम नगरसभा बिहिबार हुदैछ । नगरसभाले रु. ४९ करोड ५५ लाख बराबरको बजेट विनियोजन गर्ने तयारी गरेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । बजेटमा शिक्षा, स्वास्थ्य र विकास निर्माणको कामलाई प्राथमिकता दिएको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।
विहान ११ बजे देखि शुरु हुने नगरसभामा नगरबासीलाई उपस्थित हुन उहाँले सबैमा आग्रह गर्नुभएको छ । बिकास निर्माणको तुलनामा अरु नगरपालिका भन्दा पछाडी रहको कृष्णनगर नगरपालिकाले नगरसभा पछि काचुँली फेर्ने विश्वास लिइएको छ । नगर प्रमुख रजत प्रताप शाह स्वतन्त्र रुपले चुनाव लडेर जितेको कारण पनि विकास निर्माणमा काममा राजनीतिक दबाब र हस्तक्षेप नहुने प्रष्टै छ । किनभने राजनीतिक दलको दलगत स्वार्थ नगर प्रमुख स्वतन्त्र भएको कारण नपर्ने अनुमान छ ।
११ वटा वडा कार्यालय रहेको कृष्णनगर नगरपालिका शिक्षा र स्वास्थ्यको हिसावमा निकै पछाडी रहेको छ । साथै हजारौँ हेक्टर खेतीयोग्य जमिन सिंचाई सुविधाको पहँुच नहुँदा मरुभुमि जस्तै बनेको छ । नगरपालिकाले यस बिषयमा पनि चासो दिनुपर्ने देखिन्छ ।
जिल्लाकै सबैभन्दा पुरानो कृष्णनगर बजार पनि अस्तव्यस्त छ । बजारमा दिनहुँ हुने फोहोर मैलाले दुर्गन्धित बनेको छ । फोहोर व्यवस्थापन गर्न तर्फ नगरपालिकाले चासो नदेखाएको बजारबासीको गुनासो रहदै आएको छ । बार्षिक अरबौको बजेट आउने कृष्णनगर भन्सार कार्यालय यहि भएपनि अझै बसपार्क बन्न सकेको छैन । बसपार्क बन्न नसक्दा गाडी अत्रतत्र राखिने गरिएको छ । त्यसले गर्दा पनि दुर्घटनाको जोखिम बढाएको बजारबासीको गुनासो छ ।
यस बिषयमा पनि नगरसभाले ध्यान दिनेमा बजारबासी आशाबादी रहेका छन् । नगर प्रमुख शाहले नगरको बिकासमा आफु दत्तचित्त भएर लाग्ने बताउँदै आउनुभएको छ । विकास निर्माणका कामहरु थुप्रै गर्नुपर्ने भएको कारण विस्तारै जनताले अनुभूति गर्ने गरि काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७४ बुधबार ००:००  १२ : ३२ बजे