७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शिवराजलाई समृद्ध नगर बनाउन एमाले सचिव ज्ञवालीको जोड



सीताराम चौधरी, कपिलवस्तु, ५ असोज ।

पूर्व संस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रदीप ज्ञवालीले शिवराजलाई समृद्ध नगरको रुपमा अगाडि बढाउन जोड दिनुभएको छ । शिवराज नगरपालिकाको प्रथम नगर सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रहनुभएका ज्ञवालीले बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी एक समृद्ध र उत्कृष्ट नगर बनाउन सुझाव दिनुभएको हो ।संविधानले जनतालाई अधिकार सम्पन्न गराएको भन्दै सबै जनतालाई महसुस हुने गरी योजनाहरुलाई गाउँ तहसम्म लागू गर्नुपर्ने बताउनुभयो । एमाले केन्द्रिय सचिव रहेका ज्ञवालीले चुनावको वेला जनता समक्ष गरेका प्रतिवद्धतालाई पूरा गर्नुपर्ने सुझाव दिनुभयो ।

विभिन्न जातजाति, भाषाभाषी रहेको नगरको भौतिक विकाससँगै स्वरोजगारका लागि विशेष कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा सांसद बलराम अधिकारीले समानुपातिक वितरण प्रणालीलाई अवलम्बन गर्दै भूगोल र जनसंख्याको आधारमा बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो । ऐतिहासिक, पौराणिक धार्मिक तीर्थस्थल शिवगढीलाई पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाउन सांसद अधिकारीले सुझाव दिनुभएको छ । कार्यक्रममा अर्का सांसद अभिशेक प्रताप शाहले बुटवलपछि कै ठूलो नगर शिवराज बन्न सक्ने तर्क पेश गर्नुभयो ।

उहाले कुनै पनि किसिमको भेदभाव नराखी शतप्रतिशत बजेट खर्च गरी एक नमूना नगरको रुपमा अगाडि बढाउन जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । यसैगरी कार्यक्रममा सांसद बिश्राम प्रसाद थारु, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, एमाले केन्द्रिय सदस्य सिराज अहमद फारुकी, एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जिल्ला समन्वय समिति उपसंयोजक तारावती चौधरी लगायतले शिवराजको बजेट, नीति तथा कार्यक्रम उत्कृष्ट रहेकाले यसलाई अवलम्बन गर्दै सबैले सहसुस हुने वातावरण तयार गर्न सुझाव सहित शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  १२ : ४६ बजे