१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नेपालको विकास योजनामा ठोस नीति छैन – नेपाल



काठमाडौं, ५ असोज (रासस) ।
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपालमा विकासको प्रशस्त सम्भावना भए पनि राज्यले ठोस नीति ल्याएर कार्यान्वयन गर्न नसक्दा विकास हुन नसकेको बताउनुभएको छ ।
आज शिखा प्रकाशनले आयोजना गरेको पत्रकार योगेश ढकाल र कृष्ण गिरिले सम्पादन गर्नुभएको ‘अबको नेपाल (सम्भावना र कार्य्दिशा)’ पुस्तक लोकार्पण समारोहमा उहाँले विकासका लागि योजना, मूल्यांकन, अनुगमनजस्तामा समस्या तथा राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नेजस्ता समस्या देखिएकाले प्रभावकारी विकास हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा रहेको हिन्दू धार्मिकस्थललाई संसारका हिन्दू धर्मावलम्बीको मक्का मदिना बनाउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्वमुख्य सचिव डा विमल कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले नेपालको राजनीतिक अस्थिरता र राज्यको ध्यान विकास निर्माणमा जान नसकेकाले विकास हुन नसकेको विचार व्यक्त गर्नुभयो ।
पुस्तकमा राजनीतिक, सामाजिक, आर्थिक, पर्यटनलगायत विषयमा विभिन्न लेखकका २६ वटा लेख रहेका छन् । वृद्धिनारायण श्रेष्ठ, डा युवराज संग्रौला, मदनकुमार दाहाल, दीपेन्द्रबहादुर क्षेत्री, पि खरेल, डा महेश मास्के लगायतका लेख रहेका छन् ।
एमाले केन्द्रीय बैठक शुक्रबारबाट
नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक शुक्रबारबाट शुरु हुदैछ ।
पार्टी मुख्यालय धुम्वाराहीमा ८ औ केन्द्रीय कमिटी बैठक विहान ११ बजेदेखि शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
बैठकमा स्थानीय निर्वाचनको समीक्षा,प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने उहाँले बताउनु भयो ।
उहाँका अनुसार बैठकले केन्द्र र प्रदेशको निर्वाचनको उम्मेदवार छनौटको मापदण्ड समेत बनाउने छ ।

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  २ : ४३ बजे