८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

को बन्ला पहिलो नेपाल आइडल ? आज ग्रान्ड फिनाले



काठमाडौं, असोज ६ ।

शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।
विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा तीन जना प्रतिस्पर्धी बाँकी रहेका छन् । मोरङका निशान भट्टराई, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये दर्शकले दिएको भोटका आधारमा एक जना प्रतियोगी नेपाल आइडल बन्नेछन् । सेप्टेम्बर १४ देखि सुरु भएको भोटिङ शुक्रबार बेलुकी पाँच बजेसम्म दर्शकले आफूले मन पराएका प्रतिस्पर्धीलाई भोट दिन पाउनेछन् ।
दर्शकको भोट नै निर्णायक भएकाले को बाहिरिन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यद्यपी सामाजिक सञ्जालमा भने अड्कलबाजी गर्न थालिएको छ । सबै प्रतियोगीका प्रस्तुतिले दर्शक र निर्णायकको मन जित्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको ग्रान्ड फिनाले कतारको दोहामा रहेको एसियन टाउन एम्पिथियटरमा हुनेछ । शुक्रबार बेलुका ९ः४५ बजेबाट नेपाल आइडलको ग्रान्ड फिनाले हेर्न सकिन्छ ।
फिनालेमा विशेष अतिथिको रुपमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि उपस्थिति रहनेछ । त्यस्तै, नेपाल आइडलको गाला राउन्डमा पुगेका १२ जना प्रतियोगीले समेत नेपाल आइडलको फाइनलमा प्रस्तुति दिनेछन् ।
के पाउँछन् नेपाल आइडलले रु
प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

भोटका आधारमा नेपाल आइडलमा दोस्रो हुनेले १५ लाख रुपैयाँ नगद र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद पाउनेछन् ।
नेपाल आइडलको फाइनलमा पुगेका सबै कलाकार अब्बल छन् । तर पनि प्रतियोगिता भएकाले एक जना विजेता घोषित हुनेछन् । नेपाल आइडलमा विजेता हुनु भनेको सांगीतिक यात्राको सर्वोच्च शिखर पुग्नु होइन । प्रतियोगिताबाट बाहिर निस्केर प्रतिस्पर्धामा उत्रन सक्ने मात्रै नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुनेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०७४ शुक्रबार ००:००  ६ : ५१ बजे