१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दशैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै



काठमाडौँ, ११ असोज ।
घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।
हनुमानढोका दरबारको दशैघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैघरका पुजारी सहित मगर जातिका छ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम शुरु भएको छ ।
हनुमानढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीका अनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका स्थित नासलचोकमा भित्र्याउने परम्परा रहेको छ । फूलपातीमा गुर्जुको पल्टन गोर्खाली सेनाको प्रतीकका रुपमा अझै रहेको छ । रासस

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  ४ : ४८ बजे