१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

महाअष्टमी पर्व दुर्गा भवानीको पूजाआराधना गरी मनाईदै



काठमाडौँ, १२ असोज (रासस) ।
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् ।
वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताउनुभयो । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उहाँले बताउनुभयो । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउनुहुन्छ ।
आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।
आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।
देवीका शस्त्र अस्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजा कोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

प्रकाशित मिति : १२ आश्विन २०७४ बिहिबार ००:००  १ : ०९ बजे