१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

अझै खुलेन बुटवल–तानसेन सडक, हजारौँ यात्रु अलपत्र



रुपन्देही, १६ असोज ।
बुटवल–तानसेन सडक अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका छन् । तीन दिनअघिदेखि खसेको पहिरोले छिनछिनमै सडक अवरुद्ध गर्दा बुटवलतर्फ आउने र बुटवलबाट उत्तरतर्फ जाने यात्रुहरु अलपत्र परेका हुन् ।
दशैका दिनदेखि पाल्पा, दोभान नजिकै सिद्धवावामा सडक अवरुद्ध भएको छ । शनिबार राति १० बजेबाट पूर्ण रुपमा अवरुद्ध सडक २० घण्टापछि आइतबार एकतर्फी खुलेको थियो । खुलेको केही घण्टामै फेरि पहिरो झरेपछि सडक अवरुद्ध छ ।
सोमबार दिउसो एकतर्फी खुलेको सडक केही घण्टामै अवरुद्ध भएको छ । केही समय खुलेको सडक पार पर्ने क्रममा खसेको ढुंगाले तीन वटा मोटरसाइकलमा सामान्य क्षति पुराएको छ ।
सडक अवरुद्ध भएपछि दशै मनाउन गुल्मी, अर्घाखाची, पाल्पा पुगेकाहरु फर्किन सकेका छैनन् । दोभानमा रोकिएका गाडीको लागि झण्डै दश किलोमिटर लामो बनेको छ । दश घण्टा जाममा परेका गुल्मी पराल्मीका दिर्घामणि पोखरेलले सडकका कारण वालवालिका र बृद्धबृद्धाहरुले बढी सास्ती पाएको बताए ।
सडक खुलाउन सडक डिभिजन बुटवल र पाल्पाका डोजरहरु प्रयोग गरिएको छ । ठूलो चट्टान सहितको पहिरोले सडकको केही भाग भत्काएपछि सडक सञ्चालनमा झन समस्या भएको हो । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले एकतर्फी सडक खुलेपनि यातायात आवागमनमा समस्या भइरहेको बताएको छ ।
पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन समेत समस्या भएको छ । केही दिन अघि मात्रै सोही स्थानमा खसेको पहिरोले कार र ट्रक पुर्दा तीनजनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७४ सोमबार ००:००  ३ : ४४ बजे