१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सरकार बचाउन समर्थन गरे – कमल थापा



लक्ष्मण पोखरेल बुटवल, २५ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धरापमा परेको सरकारलाई बचाउनका लागि पार्टीले समर्थन गरेको बताउनु भएको छ । माओवादी केन्द्रले एमालेसंग तालमेल गर्दा सरकार अल्पमतमा परेकाले निर्वाचन गर्नका लागि मात्रै सरकारको समर्थन गरिएको स्पष्ट पार्नु भयो ।

बुटवलमा आज रिपोर्टस नेपालले गरेको साक्षात्कारमा बोल्दै थापाले निर्वाचन मंसिरमै हुने सुनिश्चितताका लागि सरकारको समर्थन भएको उहाले बताउनु भयो ।
उहाले आवश्यकताका आधारमा सरकारमा सहभागि हुन सकिने सम्भावना समेत रहने जनाउनु भयो । बाम एकता भएकाले प्रजातन्त्रबादीहरु धु्रविकरण हुनु स्वभाविक भएको नेता थापाले जनाउनु भयो ।

लोकतान्त्रिक शक्तिबीच तालमेल भए पनि सिट संख्याको बिषयमा टुंगो नलागेको उहाको तर्क छ । भागवण्डामा आफुले पाएको क्षेत्रमा चुनाव जितेरै छाडिने उहाले दाबि गर्नु भयो ।
राप्रपाले बाम एकतालाई सकारात्मक रुपमा लिएको बताउनु भयो । आफू पार्टी बिभाजनको पीडामा रहेकाले पार्टी एकता हुनुलाई नकारात्मक मान्न नसकिने भन्दै उहाले एमाले र माओवादीको एकताको प्रयोजन र प्रभाव हेरेरमात्रै विश्लेषण गरिने बताउनु भयो ।
दुई कम्युनिष्ट मिल्दैमा आत्तिनु र बिचलिन हुनुपर्ने कारण नभएको उहाको भनाई थियो । दुई राप्रपाको एकीकरण भने हल्ला मात्रै भएको उहाले स्पष्ट पार्नु भयो ।
पार्टी बिभाजनको दोष पशुपति शम्सेरलाई थोपर्दै उहाले भन्नुभयो पशुपति जीले गम्भिर गल्ती गर्नुभयो । जसले राप्रपा बैकल्पिक शक्तिका रुपमा उभिनबाट चुक्यो ।’
प्रतिनिधी सभाको निर्वाचन सार्न नहुने भन्दै उहाले सरकारको सहजताका लागि भने एकै समयमा गर्न सकिने बताउनुभयो । तर त्यसका लागि सबै राजनीतिक दलको सहमति सरकारले लिनुपर्ने उहाको भनाई छ ।
उहाले मंसिरमा हुने निर्वाचनसंगै हिन्दुराष्ट्रको विषयमा पनि जनमत संग्रह समेत हुनुपर्ने बताउनुभयो । पार्टीका अञ्चल अगुवाकार्यकर्ता भेलामा सहभागि हुन थापा बुधबार रुपन्देही आउनु भएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : २८ बजे