२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

घरघरमा लक्ष्मी पूजा गरिदै, आजको रात सुखरात्री !



कपिलवस्तु, २ कार्तिक ।
कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ ।
आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज घरघरमा दीपावलिका सहित दीपावली गरिन्छ ।
घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ । यसरी अङ्कित गरिएको पाइलामा कमलको फूलको शय्या बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास रहेको छ ।
लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियो, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष राधारामचन्द्र गौतमले बताए ।
विधिअनुसार लक्ष्मी पूजा गरिसकेपछि श्रीसुक्त पाठ गरिन्छ, लक्ष्मीलाई नरिवल प्रिय लाग्ने भएकाले लक्ष्मी पूजामा जटानरिवल विशेष रुपमा चढाइन्छ, यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास गरिने उनले बताए ।
आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन नेपालका केही भागमा भए पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको समितिले जनाएको छ । शास्त्रोक्त भनाइ अनुसार ‘बिहीबार बिहान गाई पूजा गरिन्छ । गाई नेपालको राष्ट्रिय जनावर हो ।

प्रकाशित मिति : २ कार्तिक २०७४ बिहिबार ००:००  १ : ५७ बजे