१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

राजदूतको जागिर छोडेका दीप कुमारको सांसद पद धरापमा ! यस्तो छ नपाउने कारण



काठमाडौं, ३ कार्तिक ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजनीतिमा फर्किने धोको यसपटकका लागि धोकोकै रुपमा रहने सम्भावना बढेको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गर्दै राजदूत पदबाट राजीनामा दिएका उपाध्यायलाई पार्टी नेतृत्वले टिकट नदिने भएपछि उनको धोको पूरा नहुने भएको हो ।
पार्टीको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरुको चयनका लागि बसेको कांग्रेस संसदीय समिति बैठकमा उपाध्यायको पक्षमा कुनै पनि नेताले नबोलेपछि उनको टिकट पाउने सम्भावना करिब करिब टरेको हो।
संसदीय समितिका एक सदस्यले दिएको जानकारी अनुसार, दुई दिन अगाडि बसेको समितिको बैठकमा उपाध्यायको विषयमा चर्चा चलेपछि समितिका अधिकांश सदस्यहरुले उपाध्यायलाई टिकट दिन नहुने सुझाव दिएका थिए।
कतिपय सदस्यहरुले अहिले नै राजनीतिमा फर्किने सोच थियो भने गतवर्ष एमाले नेतृत्वको सरकारले फिर्ता बोलाएकै देश भारतका लागि राजदूतमा पुनः किन गएको भन्ने प्रश्न समेत गरेका थिए।
केही सदस्यहरुले अघिल्लो चुनावमा आपसी विवादका कारण बिद्रोह गर्दै उम्मेदवार बनेर चुनाव जितेका स्वतन्त्र सांसद अतहर कमाल मुसलमानलाई टिकट नदिएर उपाध्यायलाई दिनु अर्को गल्ति हुने धारणा राखेका थिए।
त्यसपछि संसदीय समितिको बैठककै बीचमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यायलाई फोन गर्दै अहिलेको परिस्थितिमा भारतका लागि राजदूत पदबाट राजीनामा नगरी त्यहि बसेर काम गर्न आग्रह गरेका थिए।
निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका उपाध्यायले केही समय अगाडि राजदूत पदबाट राजीनामा गर्दै आफ्नो राजीनामा पत्र तत्कालिन परराष्ट्रमन्त्री कृष्ण्बहादुर महरालाई बुझाएका थिए।
तर संसदीय समितिमा आएको सुझावपछि सभापति तथा प्रधानमन्त्री देउवाले उनको राजीनामा स्वीकृत नभएको भन्दै उनलाई टिकट दिन नसक्ने जानकारी फोनमार्फत उपाध्यायलाई दिएको कांग्रेस स्रोतले बतायो।
बहुदलीय प्रजातन्त्रको स्थापना पश्चात कांग्रेसको राजनीतिमा सक्रिय उपाध्याय २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएपछि तत्कालिन पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई मनाएर भारतको लागि नेपाली राजदूतमा नियुक्त भएका थिए।
नयाँ संविधानको विषयमा नेपाल र भारतबीचको सम्बन्धमा चिसो पस्दै अघोषित नाकाबन्दी लागेपछि एमाले नेतृत्वको सरकारले उनलाई डेढ वर्ष अगाडि फिर्ता बोलाएको थियो।
तर कांग्रेस र माओवादी गठबन्धनको सरकार बनेपछि उपाध्यायले कूटनीतिक अभ्यास र चलन विपरित पुनः भारतका लागि नेपाली राजदूत बनाएर पठाइदिन सभापति देउवालाई मनाउँदै राजदूतको नियुक्ति लिएका थिए।
कपिलवस्तुमा स्वतन्त्र हैसियतमा चुनाव जितेका कमाल पार्टीको १३औं अधिवेशन अगाडि नै कांग्रेसमा प्रवेश गरिसकेका छन । विगतमा राजनीतिक प्रतिस्पर्धीभन्दा पनि आपसी दुश्मन जस्तै व्यवहार गर्दै आएका कमाल र स्थानीय नेता राजेश आचार्य बीच अहिले सम्बन्धमा सुधार आएको छ। उनीसहित जिल्ला सभापति सुरेन्द्र आचार्य पनि यसपटक कपिलवस्तुमा टिकट वितरण गर्दा जिल्लाका नेता कार्यकर्ताको भावना बुझेर मात्र निर्णय लिन नेतृत्वलाई सुझाइरहेका छन्।
निवर्तमान सांसद मुसलमान र जिल्ला सभापति समेत रहेका सुरेन्द्रले जिल्लाका तीन क्षेत्रमध्ये एकमा मुसलमान, दुईमा सुरेन्द्र आफैँ र तीनमा संघीय समाजवादी फोरम छोडेका अभिशेषप्रताप शाहलाई र अघिल्लो पटक मुसलमानका प्रतिस्पर्धी राजेशलाई क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यको उम्मेदवार बनाउन पार्टीमा सिफारिस गरका छन्।
यो खबर एभरेष्ट दैनिकमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७४ शुक्रबार ००:००  १० : ३६ बजे