२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

अवरुद्ध बाटो चार महिनापछि सञ्चालन



रामपुर, पाल्पा, ६ कात्तिक ।
पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको अवरुद्ध नम्ताहा–झोकेदी मोटरबाटो सञ्चालन भएको छ । गएको असार महिनादेखि अवरुद्ध मोटरबाटो चार महिनापछि सञ्चालन भएको हो ।
बाटो सञ्चालन भएपछि फोक्सिङकोटको बेलौजा, लाँबे, खर्केहान, बोरोङ्गसे, नम्ताहा, हुँगीको स्याजु तथा मसल्याङलगायतका गाउँका करिब ३०० घरधुरीका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।
विभिन्न ठाउँठाउँमा पहिरो गई बाटोको जगै भत्किएपछि यातायातका साधनसमेत ठप्प हँुदा स्थानीयवासीले निकै सास्ती भोग्नुपरेको थियो । स्थानीयको सक्रियतामा बाटो मर्मत गरिएपछि अहिले नियमितरुपमा सवारीसाधन सञ्चालन भएको उपभोक्ता समितिका सचिव टकबहादुर फालले बताउनुभयो ।
बाटो मर्मतका लागि रु पाँच लाख रकम विनियोजन गरेर बाटो सञ्चालनमा ल्याइएको वडा अध्यक्ष उमानसिं सारुले बताउनुभयो । उहाँका अनुसार अवरुद्ध बनेका वडाका सबै बाटो मर्मत सम्भार गरेर अहिले सञ्चालन भएको छ ।
यहाँ बाटो सञ्चालन भएपछि वडा कार्यालयसम्म आउन जानसमेत सुविधा पुगेको छ । गएको असार २० गते यस खण्डमा पहिरोमा पुरिएर एक जनाको पुरिएर मृत्युसमेत भएको थियो । (रासस)

प्रकाशित मिति : ६ कार्तिक २०७४ सोमबार ००:००  ४ : ०२ बजे