१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

चिच्याएर वर माग्न सत्यवती मेला जाउँ !



पाल्पा, ८ कात्तिक (रासस) ।
पाल्पाको तिनाउ गाउँपालिका–४, सत्यवती तालमा चिच्याएर वरदान (वर) माग्ने मेला लाग्ने भएको छ ।

सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा सत्यवती धार्मिक मेला यही कात्तिक १६, १७ र १८ गते सम्म हुने भएको हो ।

रातको समयमा सत्यवती तालमा लिंगो गाडेर बिहान सही लिंगो चिनेर पूजा गर्ने चलन रहेको छ । सत्यवती बजैको कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने चलन रहेको समितिका अध्यक्ष अध्यक्ष सुनवीर गाहाले बताउनुभयो ।

अँध्यारो भएपछि तालमा पुग्ने र बिहान झिसमिसे उज्यालो नहुँदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिका अध्यक्ष गाहाले बताउनुभयो ।

कात्तिक शुक्ल पूर्णिमा कात्तिक महिनामा परेमात्र यो मन्दिरमा पूजा गर्ने बढी आउने गर्दछन् । प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमाका दिनसम्म सत्वयती तालमा धार्मिक मेला लाग्ने भएपछि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतबाट समेत दर्शन गर्न आउने गरेको सचिव लालबहादुर दर्लामीले बताउनुभयो ।

सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्याएर वर माग्ने चलन रहेको हो । त्यहाँ पुग्ने हजारौँले एकैपटक चिच्याएर वर माग्दा जंगलको सुनसान रात गुञ्ज्यमान हुने तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तीले बताउनुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले सत्यवती ताल क्षेत्र धार्मिक आस्थाको केन्द्र रहेकाले यसलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

तानसेन—बुटवल सडकखण्डको चौबिस माइलबाट एकघण्टा ३० मिनेटको उकालो चढेपछि सत्यवती ताल, सत्यवती बजैको मन्दिरमा पुग्न सकिन्छ । सत्यवती बजैका लागि परेवा र बाख्राको बलि दिने चलन छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७४ बुधबार ००:००  ११ : ३४ बजे