१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

डेंगु संक्रमणका विरामी बढेपछि रुपन्देहीमा रगतको माग उच्च



लक्ष्मण पोखरेल बुटवल, १२ कार्तिक ।
डेंगु संक्रमणका विरामी बढेपछि रुपन्देहीमा रगतको माग अत्याधिक बढेको छ । एक महिनाअघिदेखि अस्पतालहरुमा डेंगुका बिरामी उपचारका लागि आउने गरेका छन् ।
यी बिरामीहरुलाई ताजा पिआरपि रगत आवश्यक पर्ने भएकाले माग बढेको हो । एउटै बिरामीलाई ४÷५ पोका रगत चाहिने भएकाले माग बढेको रक्त सञ्चार सेवाकेन्द्र बुटवलले जनाएको छ ।
अन्य समयमा दैनिक ३५ देखि ४० पोकासम्म रगत केन्द्रबाट वितरण गरेकोमा अहिले सबै प्रकारका रगत ७० देखि ८० पोकासम्म वितरण गरिएको छ ।
असोजको अन्तिमसम्म एक सातामा ताजा रगत ६० पोकासम्म वितरण गरिएकोमा अहिले दिनमै ३० पोकासम्म रगत वितरण गरिएको केन्द्रको भनाई छ ।
नियमित रक्तदाता समाजले पनि विरामीलाई आवश्यक पर्ने रगतलाई डोनेसन बोलाएर रगत उपलब्ध गराउँदै आएको छ ।
नियमति रक्तदान, आकस्मिक रक्तदान कार्यक्रम गर्दै आएको समाजले डेंगु विरामीका लागि आवश्यक पर्ने ताजा रगतका लागि समन्वयको काम गरिरहेको नियमित रक्तदाता समाज रुपन्देहीका कोषाध्यक्ष उदयराज भट्टराईले बताउनुभयो ।
रक्त सञ्चार केन्द्रले डेंगुका विरामीहरुका लागि ताजा रगतको माग उच्च भएपनि आफन्तहरुलाई नआतिलिन आग्रह गरेको छ । विरामीका आफन्तजनहरुले रगत पाउन कठिन भएको बताएका छन् ।
नवलपरासीको भुताहबाट लुम्बिनी अञ्चल अस्पतालमा विरामी लिएर आएका घनश्याम चौधरीले खोजेकै समयमा रगत नपाएपछि अन्तिम समय सम्म रगत पाइएको बताउनुभयो ।
रुपन्देहीमा पछिल्लो १५ दिनमा मात्रै झण्डै एक सय डेंगु संक्रमणका बिरामी अस्पतालमा भर्ना भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा १ सय २३ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७४ आइतबार ००:००  ६ : ४५ बजे