१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

डेंगु परीक्षणमा बढि मूल्य नलेउ – एशोसियशन



तिलोत्तमा, रूपन्देही, १३ कात्तिक (रासस) ।
रूपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ । डेंगुको सङ्क्रमण बढेसँगै रूपन्देहीमा सञ्चालित विभिन्न ल्याबले डेंगु परीक्षणमा मनोमानी शुल्क लिएको सेवा ग्राहीले गुनासो गरेपछि मेडिकल ल्याब्रोटरी एशोसियशन नेपाल (मेलान) रूपन्देहीले बढि शुल्क नलिन आग्रह गरेको छ ।

पछिल्लो समय रूपन्देही सहित यस क्षेत्रमा डेंगु रोगीहरू दैनिक रूपमा भेटन थालेपछि परीक्षण गर्ने सेवा ग्राही बढ्दै गएका छन् ।

मेलान रूपन्देहीका अध्यक्ष गुणानिधि खनालले प्रेस विज्ञप्ति जारी गरी डेंगु परीक्षण गरेको शुल्क एक हजार मात्र लिन पाउने गरी निर्णय भएको जानकारी गराउनुभयो । उहाँले मेलानका पदाधिकारीसहितको बैंठकबाट एक हजारभन्दा बढि रकम डेंगु परीक्षणमा लिन नपाउने गरी निर्णय भएको बताउनु भएको छ ।

साथै डेंगु परीक्षण गर्ने किटको अभाव भएको भन्ने हल्ला निराधार भएको र किट पर्याप्त मात्रामा रहेको जानकारी दिनुभयो । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मे सु डा कृष्ण खनालले हालसम्म १७० जना डेंगुका रोगी भेटिएको बताउनुभयो ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ५१ बजे