१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

गुल्मी र उदयपुरमा भएका सवारी दुर्घटनामा १८ जनाको मृत्यु, दर्जनौ घाइते



मायादेवी अनलाइन, कपिलवस्तु, १३ कात्तिक ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएको थियो ।
दुर्घटनामा ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभएको छ । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटे पनि बीच बाटोबाट गाडीमा यात्रु थपिएको प्रहरी जनाएको छ ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै, दुई जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा र एक जनाको उपचारका क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा तीन जना महिला र ६ जना पुरुष रहेका छन् ।
यस्तै घाइते हुनेहरुमा एक जना महिला, ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ । गाडीमा सवार चालक सहित १७ जना रहेका थिए ।
दुर्घटनामा परेको गाडी सड्कबाट करीव ३ सय मिटर भन्दा बढी तल खसेको थियो । गाडीको तीब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिनुभयो । उहाका अनुसार साइड दिने बलेरो जीप सड्कको नालीमा रहेको बताउनुभयो । दुर्घटना स्थल ठूलो भिर र साघुरो बाटो रहेको छ ।
यसैबिच उदयपुरमा सुमो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १२ : ५३ बजे