२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022

खुला दिसामुक्तमा वडा अध्यक्ष नै बाधक, घरमा छैन शौचालय !



मायादेवी अनलाइन, पश्चिम व्यूरो, १५ कार्तिक ।
कृष्णनगर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष छेदी यादव एका विहानै उठ्छन । चाहे मुसलधारे पानी परोस, चाहे पुस माघको सित लहर चलोस उनको एका विहानै उठ्ने दैनिकी बनेको छ । गाउँका अरु मस्त निन्द्रामा हुँदा उनले घर नजिकैको खेतमा शौच गर्नुपर्छ । किनकि निर्वाचित वडा अध्यक्ष शौच गर्दा अरुले देख्छन् कि भन्ने उनलाई ठुलो लाज छ । गाउँमा उनलाई सबैले जिमिन्दार मान्छन । उनको दुई तले पक्की घर छ तर शौचालय छैन । उनि संघिय समाजबादी फोरम नेपालका स्थानीय नेता पनि हुन ।

यस्तै शिवराज नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्तरी प्रसाद चौधरीको घरमा पनि शौचालय छैन । उनको पनि एकाविहानै उठेर शौच गर्ने दैनिकि हो । संघिय समाजबादी फोरम नेपालका स्थानीय नेता समेत रहेका चौधरीले भारी मतले वडामा जितेका हुन । उनको गाउँमा ठुलै शान छ, मान छ तर शौचालय छैन । यस्तै शिवराज नपा वडा नम्बर ८ का वडा अध्यक्ष शंकर यादवको घरमा पनि शौचालय छैन । उनी पनि संघिय समाजबादी फोरम नेपालका स्थानीय स्तरका नेता हुन ।

यादव र चौधरी त प्रतिनिधि पात्र मात्रै हुन । कृष्णनगर नपामा ११ र शिवराज नपामा ७ जना वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिको घरमा पनि शौचालय छैन । यति मात्र नभई यहाँका कतिपय शिक्षक, सरकारी कर्मचारी, अधिकारकर्मीको घरमा पनि शौचालय निर्माण भएको छैन । समाजका सरोकारवालाहरुले नै यसरी खुलम खुला शौच गर्दा सरसफाई अभियान्ताहरुलाई ठुलै चुनौती थपिएको छ । सामान्य सर्वसाधारणलाई खुलादिसा पिसाब गर्दा निम्तने स्वास्थ्य खतराको बारेमा सचेतना जगाउँदा टेर्ने गरे पनि निर्वाचित जनप्रतिनिधिले ठाडै अटेरी गर्ने गरेको सरसफाई अभियान्तको गुनासो छ ।

कपिलवस्तुमा खुल्ला दिसामुक्त अभियान सन् २००८ बाट शुरु भएको हो । जुन अहिले ९ बर्ष पुगिसकेको छ । सरकारी तथा गैरसरकारी तथा दाताहरुबाट जिल्लालाई खुला दिसामुक्त बनाउन अथक प्रयासहरु नभएका होइनन । तर समुदाय र अगुवाहरुकै इच्चाशक्ति नभएका कारण अभियान घोषणा मिति ३ पटक सम्म सार्दा समेत जिल्लालाई खुलादिसामुक्त बनाउन जिल्ला स्तरिय खानेपानी तथा सरसफाई समिति असफल भएको छ ।

खुल्ला दिसामुक्त पार्ने राष्ट्रिय लक्ष्यको मिति पनि नजिकिदै गएको छ । तर जिल्लाका साविकका ५७ गाविस र ६ नगरपालिका मध्ये ३३ गाविस खुलादिसा मुक्त घोषणा भएका छन् । अब राष्ट्रिय लक्ष्य सकिन दुई महिना मात्र बाँकि छ । यो समय भित्र जिल्लाका साविक २४ गाविसलाई खुला दिसामुक्त घोषणा गर्नुपर्ने छ । नगरपालिका तर्फ जिल्लाका साविकका बुद्धभुमि नपा र वाणगंगा नपा मात्र खुला दिसामुक्त घोषणा भएका छन् । यसो त खुला दिसामुक्त घोषणा गरिएका कतिपय स्थानमा शौचालयको प्रयोग भएको छैन । लक्ष्य पूरा गर्ने नाममा कतिपय साविक गाविसलाई धमाधम खुलादिसामुक्त घोषणा गरिएको नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई बताउँछन । ‘खुलादिसामुक्त घोषणा गर्दैमा लक्ष्य सफल भएको मान्न मिल्दैन उनले भने, शौचालयको प्रयोग गर्नु महत्वपूर्ण उपलब्धि हो । ’

कपिलवस्तुलाई विभिन्न चरणबाट खुला दिसामुक्त बनाउन सरकारी तथा दातृ निकायले धेरै लगानी गरेका छन् । जिल्लामा विशेष गरि सन २००८ देखि पश्चिम नेपाल ग्रामिण खोनपानी सरसफाई परियोजना पहिलो र दोस्रो चरणले मात्र ९ बर्षमा १८ करोड बढी रकम खर्च गरिसकेको छ । ४ बर्ष अघि शौचालय निर्माण अभियान लिएर कपिलवस्तु नगरपालिका छिरेको लुमन्ति आवासका लागि परियोजना कार्यक्रमले मात्रै रु ३ करोड ६० लाख रुपैया खर्च गरिसकेको छ ।

खुला दिसामुक्त तथा सरसफाई अभियान सफल पार्न साविकको परिषद्बाटै सबै बजेट शौचाय निर्माणमा खर्च गरेका थिए । आ.व ०६७÷०६८ देखि आ.व ०७२÷७३ सम्म गाविसहरुले मात्रै ५ करोड बढी रकम खर्च गरेको जिविस श्रोतको दाबी छ । यसैगरि युनिसेफले १ करोड र सुआहाराले पनि सरसफाईको क्षेत्रमै १ करोड बढी रकम खर्च गरिसकेका छन ।

समग्रमा हेर्दा ९ बर्षको सरसफाई अभियानमा सरकारी तथा गेरसरकारी निकायको गरि २८ करोड ६० लाख रकम खर्च भैसकेको छ । गर्न कुनै कसर बाँकि राखिएको छैन । सन २०१५, २०१६ र २०१७ गरि तीन पटक गरिएको खुल्ला दिसामुक्तको प्रतिबद्धताको उपलब्धी बालुवामा पानी खनाए सरी भएको छ ।

जिल्लामा अभियान शुरु हुनु अघि जिल्लाको अवस्था निकै दयनिय थियो । देशको पुरानो कपिलवस्तु नगरपालिकामा समेत २७ प्रतिशत मात्र शौचालय थिए । दक्षिणी भेगका सिंहखोर, मर्यादपुर, बैदौली, हथिहवा लगायतका गाविसमा २ देखि ४ प्रतिशत मात्र शौचालय थिए । अहिले अवस्थामा निकै सुधार भएको बाश फोकल पर्सन निरन्जन पौडेल बताउँछन । पौडेल भन्छन्, ‘ खुला दिसामुक्त नहुनुमा राष्ट्रिय गुरुयोजना देखि समुदायको वेवास्ता सम्म यसको कारण भएको छ । ’

सरसफाई अभियान्ता कमला सापकोटाले भने सरसफाई अभियानमा कर्मचारी र सरकारी पक्षको पहल राम्रो भएपनि समुदायको अग्रसरता नभएकै कारण लक्ष्य हासिल नभएको बताउँछिन । ‘जगडिएको समाजलाई चेतानामा ल्याउन धेरै कष्ट छ ’ उनले भनिन, यसमा राज्य अझै चनाखो हुन पर्छ । खुलादिसामुक्त घोषणा गर्ने जिम्मेवारी पाएका जिम्मेवार निकाय राष्ट्रिय लक्ष्यमा काम पूरा गर्न किन सकिएन भन्ने चिन्ता गर्नु भन्दा पनि कमजोर स्थितीलाई सुधार गरेको उपलब्धि ठान्ने गरेका छन् ।
फोटो फाइल हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : ३७ बजे