२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा



राँझा (बाँके) ।  बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ । 

तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बाँकेमा छ हजार ५३० हेक्टर क्षेत्रफलमा गरिएको तोरीखेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनमा १४ दशमलव ४१ प्रतिशत कमी हो ।

बाँकेमा तेलहन बाली कुल सात हजार २५६ हेक्टरमा हुँदै आएको छ । तोरीबाहेक सर्सो, रायो, सूर्यमुखी, तिल, बदाम र आलसखेती गरिने भए पनि क्षेत्रफल र उत्पादन अत्यन्त न्यून छ । किसानले खेती गर्ने क्षेत्रफल घट्दै गएर हाल सर्सो ३५ हेक्टर, रायो १५ हेक्टर, सूर्यमुखी एक हेक्टर, तिल १५ हेक्टर, बदाम ६१५ हेक्टर र आलस ४५ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सूचना अधिकारी पाठकले जानकारी दिनुभयो । उहाँले हिउँदे वर्षा नहुनु र बीउ प्रतिस्थापन दर न्यून हुँदा तोरीखेतीको उत्पादन घट्दै गएको उल्लेख गर्दै किसान तोरीबाहेक अन्य तेलहन बालीतर्फ आकर्षित हुन नसकेको बताउनुभयो ।

नेपालगञ्ज–२२ का अगुवा किसान चक्र बुढाले उत्पादनको यो निरन्तर गिरावटलाई रोक्न किसानलाई बढी उत्पादन दिने र तेलको मात्रा राम्रो हुने उन्नत जातका बीउ उपलब्ध गराउनु, सिँचाइको व्यवस्थापनमा सुधार ल्याउनु र अन्य तेलहन बालीको महत्वबारे सचेत गराउनु आवश्यक रहेको बताउनुभयो । 

तेलहन बालीको उत्पादनमा आएको यो गिरावटले गर्दा तेलको आयातमा निर्भरता बढ्ने र स्थानीय बजारमा तेलको मूल्यमा असर पर्ने भएकाले बाँकेमा तेलहन बालीको खेतीलाई प्रोत्साहन गर्न स्थानीय र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र किसानलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । रासस

प्रकाशित मिति : २१ मंसिर २०८२ आइतबार ००:००  ५ : ३७ बजे