१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बलदेवको तौलिहवामा ग्रजन, कांग्रेस १० बर्ष चुप लागेर बसोस !



मायादेवी अनलाइन, कपिलवस्तु, १९ कार्तिक ।
वाम गठबन्धनमा रहेका सबै उमेदवारहरुले आगामी दिनको कपिलवस्तुको नयाँ खाका र परिकल्पना प्रस्तुत गरेका छन् । दलहरुले निर्वाचन कार्यालय मार्फत चुनाव चिन्ह प्राप्त गरे संगै तौलिहवामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा आफ्ना विचार प्रकट गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवम क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल (बलदेव) ले नेपाली कांग्रेसले ५ वर्ष प्रतिपक्षमा रहेर हेर्नुपर्ने र अर्को १० वर्ष नयाँ नेपाल कसरी बन्छ सिक्नुपर्ने बताउदै धैर्यतापूर्वक राजनिती गर्न आग्रह गर्नु भभएको छ ।

वामपंथी सरकार बनेमा लोकतन्त्रमा संकट आउछ भन्नेकुरा कांग्रेसको जनतालाई भ्रम पार्ने खेल भएको बताउँदै कांग्रेसको नामबाट सत्ताको दुरुपयोग गर्दै वर्षो सम्म भ्रष्टचारीलाई संस्थागत गरेकाहरु यतिबेला छटपटाएको तर्क गर्नुभयो । उहाले कपिलवस्तुको विकास र सम्मुनतीका लागी ३३ वटा मुद्दाको संवोधन हुनुपर्ने प्रष्ट्याउनुभयो ।

यसैगरी चुनाव चिन्ह सूर्यबाट कपिलवस्तु क्षेत्र नम्बर २ बाट उमेदवारी दिनु भएका स्वतन्त्र समुहका उमेदवार वृजेश कुमार गुप्ताले बोल्दै वाम गठबन्धन स्वरुपमा परिवर्तनकारी भएकाले मूलुक र मधेशको हितका लागी स्वतन्त्र समुहले समेत सोही गठबन्धनमा सामेल भएको औल्याउनुभयो । राजपाका नेताले २ नम्बर प्रदेशलाई मात्रै मधेश ठानेकाले यसबाट विद्रोह गरेको तर्क गर्दै ६ वटा प्रदेश र केन्द्रमा वाम सरकार बन्ने ठोकुवा गर्नुभयो ।

स्वतन्त्र समुहबाट क्षेत्र नम्बर ३ को उमेदवार बन्नु भएका नेता ईश्वरदयाल मिश्राले मधेशका माग पुरा गर्ने आश्वासन एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएकाले आफुहरु वामगठबन्धनमा सामेल भएको बताउदै जे बोल्यो त्यो पु¥याउने नेता ओली रहेको दाबी गर्नु भयो ।

कार्यक्रममा क्षेत्र नम्बर १ को प्रदेश नम्बर १ का उमेदवार एवम एमालेका युवा नेता विष्णु पंथीले मुलुकको दिर्घकालिन समृद्धी, स्थायित्व र विकास वाम गठबन्धनले हासिल गर्ने बताउनुभयो ।

क्षेत्र नम्बर १ कै प्रदेश नम्बर २ का उमेदवार फैजल खाले आफु राष्ट्रवादी, देशभक्त र स्वाभीमानी भएकाले कलिलो उमेरमै एमालेको राजनितीलाई पक्रेर अघि बढ्न चाहेको बताउनुभयो ।

स्वतन्त्र समुहबाट क्षेत्रनम्बर २ को प्रदेश नम्बर १ का उमेदवार दिर्घनारायण पाण्डेले कांग्रेसमा ३० वर्ष राजनिती गर्दा सो पार्टी देश र जनाताको होईन भन्ने बुझेकाले यसपाली सूर्य चिन्ह्बाट चुनाव लड्न तयार भएको बताउनुभयो ।

२ नम्बर क्षेत्रको प्रदेश नम्बर २ का उमेद्धवार धरमबहादुरलाल श्रीवास्तवले बोल्दै कपिलवस्तु अबको ५ वर्ष भित्रमा पर्यटकका माध्यमले अन्तराष्ट्रिय पहिचान बनाउन सफल हुने बताउनुभयो । आफु मधेशका नेताहरुबाटै पिडित भएको तर्क गर्दै सूर्य चिन्ह मार्फत मधेशमा उज्यालो छाउने दाबी गर्नुभयो ।

क्षेत्र नम्बर ३ को प्रदेश नम्बर १ का उमेदवार अर्जुन केसीले मधेश, पहाड, हिन्दु मुस्लीम आदीका बाहानामा चुनाव जित्नेहरुको दिन गएको बताउनुभयो । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा एमालेका नेता एवम निर्वतमान सांसद बलराम अधिकारी, माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय, माओवादी केन्द्रका नेता गिरिधारिलाल न्यौपाने, भानुप्रकाश श्रेष्ठ, एमालेका नेता बिमला घिमिरे, डम्मर शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

प्रेस चौतारिका अध्यक्ष हरि अधिकारीको अध्यक्षता, प्रेस सेन्टरका चिन्ता परियारको सञ्चालन र चौतारिका सचिव बाबुराम रायमाझीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा जिल्लाका २ दर्जन बढी संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७४ आइतबार ००:००  ३ : २७ बजे