१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बलदेव र विष्णु पंथी चुनावी सम्पर्क कार्यालय उद्घाटनमा व्यस्त



मायादेवी अनलाइन, कपिलवस्तु, २५ कार्तिक ।
आसन्न मंसिर २१ गते हुने निर्वाचनको लागि बामगठबन्धनले वाणगंगा नगरपालिकाका विभिन्न वडामा निर्वाचन प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बामगठबन्धनले वाणगंगा नगरपालिकाको वडा नम्बर २ र ५ मा निर्वाचन प्रचार कार्यालय स्थापना गरेको हो । वाणगंगा नगरपालिका २ पिपरामा संचालनमा ल्याइएको कार्यालयको उद्घाटन सांसद बलराम अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिनिधीसभा एकका उम्मेदवार चक्रपाणी खनालले दुईवटा ठुला कम्युनिष्टहरु एमाले र माओवादी केन्द्र चुनावका लागि मात्र तालमेल नभएर नेपाली जनतालाई दासत्वबाट मुक्त गर्दै आर्थिक क्रान्ति र सम्बृद्धिका लागि भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री प्रचण्डका सल्लाहकार समेत भईसक्नु भएका नेता बलदेवले यसअघि चुनाव जितेर सत्तामा पुगेका जिल्ला नेतृत्वले जिल्लाको विकासका लागि केही नसोचेको भन्दै २०७० पछि बामपन्थीले चुनाव जितेपछि जिल्लामा विकासको शुरुवात अघि बढेको बताउनुभयो ।

नेता बलदेवले एमालेको ९ महिने सरकार र त्यसपछिका बामपन्थीले नेतृत्व गरेका सरकारले नेपाली जनताले महसुस हुनेगरी परिवर्तन आएको बताउनुभयो । त्यस्तै प्रतिनिधी सभा १ को प्रदेश सभा १ का उम्मेदवार विष्णु पन्थीले बाम गठबन्धन मुलुकलाई न्याय, समानता, आर्थिक समृद्धि र परिवर्तन ल्याउनका लागि भएको बताउनुभयो । नेता पन्थीले नेपाली जनताको आयस्तर र जनजिविकाले राष्ट्रीयता बलियो हुने बताउदै लगानी मैत्री वातावरण र स्थानीय श्रोत, साधन, सम्पदाको व्यवस्थापनले राष्ट्र सक्षम हुने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान सांसद बलराम अधिकारीले राजनीतिक स्थायीत्वका लागि बाम गठबन्धनलाई जिताउन सवै कार्यकर्तालाई आ आफनो ठाउँमा खटिन आग्रह गर्नुभएको छ । कार्यक्रममा एमालेबाट प्रदेश सभाका समानुपातिक उम्मेदवारमा सिफारिस रिता चौधरी थारुले बामगठबन्धन समावेशी, समानुपातिक तथा महिलाको अधिकारको पक्षमा अरु पार्टीभन्दा माथि उठेको बताउनुभयो ।

कार्यक्रम निर्वाचन परिचालनका सहसंयोजक विश्व कार्कीको अध्यक्षता, निवर्तमान साँसद बलराम अधिकारीको प्रमुख आतिथ्यता, कमल आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्कुल विभाग सदस्य विमला घिमिरे, पोलिटव्युरो सदस्य गिरीधारीलाल न्यौपाने, निर्वाचन परिचालन समिति एकका संयोजक डम्मर शर्मा, निवर्तमान साँसद विश्राम चौधरी, युवा नेता चक्र अर्याल, दोर्णराज सुवेदी लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  २ : ५४ बजे