७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दीपकुमार उपाध्याय विरुद्ध आचार संहिता उजुरी



मायादेवी अनलाइन, कपिलवस्तु, २७ कार्तिक ।
भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय विरुद्ध आचार संहिता उलङ्घन उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतका कार्यालय कपिलवस्तुमा आइतबार उपाध्याय विरुद्ध उजुरी परेको हो । कपिलवस्तुको प्रतिनिधी सभा १ बाट नेपाली कांग्रेसका उम्मेद्धवार उपाध्यायले निर्वाचन आयोगको निर्देशन विपरित ठूला ठूला होर्डिङ बोर्ड सार्वजनिक स्थलहरुमा झुण्डयाएको भन्दै उजुरी परेको छ । कपिलवस्तु नगरपालिका बस्ने विक्रम बढई तथा रामसुभग चाईले संयुक्त रुपमा आचार संहिता विपरित कार्य गरेको भन्दै उजुरी दर्ता गराएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा २ नम्बरमा दर्ता गरिएको कार्यालयले जनाएको छ ।

यस्तै जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद खनाल विरुद्ध पनि आचार संहिता उलङ्घन गरेको भन्दै उजुरी परेको छ । शनिबार बुद्धबाटिका नगरपालिका वडा नं. ८ स्थित पचिगवा गाँउमा नेपाली कांग्रेसको निर्वाचन प्रचार अभियान कार्यक्रममा सहभागी हुन लु १ झ ३४२ नम्बरको सरकारी गाडी दुरुपयोग गरेको भन्दै उजुरी परेको छ । स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा समेत यसबारे समाचार प्रकाशित भएको भन्दै कपिलवस्तु नगरपालिका ४ बस्ने मिलन उपाध्यायले उजुरी दर्ता गराउनुभएको छ ।

निर्वाचन आयोगले सार्वजनिक स्थलमा प्रचार सामाग्री राख्न नपाइने, १ रंगमा मात्र पर्चा पम्पलेट प्रकाशन तथा वितरण गर्न पाइने निर्वाचन आचार संहितामा उल्लेख गरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख ज्ञानहरी घिमिरेले रंगिन पर्चा पम्पलेट सार्वजनिक स्थलमा राख्नु आचार संहिता विपरित भएकोले त्यसमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारवाही प्रक्रिया अघि बढाउने बताए । त्यसका लागि स्थलगत रुपमा अनुगमन गर्ने, आचार संहिता उलङघन् भएको अवस्थामा होर्डिङ बोर्डहरु हटाउन निर्देशन दिने र अटेरी गरे कानूनी प्रावधान अनुसार १ लाख सम्म जरिवाना वा उम्मेद्धवारी बदर वा दुबै हुन सक्ने घिमिरेले बताए ।

सरकारी सवारी साधन निर्वाचन गतिविधीमा प्रयोग गर्नु नै आचार संहिता विपरित भएको हुदा यसबारे जिसस प्रमुख खनाल संग स्पष्टिकरण सोधिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आचार संहिता उलङ्घन विरुद्ध अहिले सम्म २ वटा मात्र उजुरी परेको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७४ सोमबार ००:००  २ : १४ बजे