७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

काँग्रेसले बनाउने भन्दा बिगार्ने काम गर्छ अध्यक्ष – ओली



भीमदत्तनगर, ८ मंसिर (रासस) ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि एमाले र नेकपा(माओवादी केन्द्र)बीच पार्टी एकताका साथै वामपन्थीको स्थायी सरकार निर्माण हुने जिकिर गर्नुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित चुनावीसभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनमार्फत संविधानमा रहेका संरचना निर्माण हुने बताउँदै भन्नुभयो, “संविधानमा समेटिएका संरचना निर्माण र वामपन्थीहरुको एकता र भिजनसहितको स्थायी सरकार बन्ने कुराले निर्वाचनको महत्व छ”,
नेपाली काँग्रेसले बनाउने भन्दा बिगार्ने काम मात्रै मुलुकमा गरेको आरोप लगाउँदै उहाँले निर्वाचनपछि मुलुक नयाँ ढंगबाट अघि बढ्ने बताउनुभयो ।
चुनावीसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापाले मुलुकभित्र रहेका वामपन्थीहरु छिट्टै एकताबद्ध हुने बताउनुभयो । निर्वाचनका बेला वामपन्थीबीचको एकताले विजयलाई जन्माएको जिकिर गर्दै उहाँले समृद्धि र स्वाधीनताको रक्षासमेत हुने धारणा राख्नुभयो । नेता थापाले आफूहरुको विजय यात्रालाई रोक्न काँग्रेस लगायत अन्य दलले दुष्प्रचार गरिरहेको आरोप समेत लगाउनुभयो ।
एमालेका उपाध्यक्ष भीमबहादुर रावलले वाम गठबन्धनपछि काँग्रेस अत्तालिएको बताउँदै काँग्रेसकै कारण राष्ट्रियता खतरामा रहेको आरोप लगाउनुभयो । “राष्ट्र नै रहेन भने नेपाली काँग्रेसले भनेजस्तो लोकतन्त्र कहाँ रहन्छ ?” सभामा बोल्ने एमाले र वामपन्थी नेताले वाम गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  १२ : १७ बजे