१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल–भारत सीमा नाका भोलिदेखि बन्द हुने



काठमाडौं, १८ मंसिर ।
निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए। सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो। निर्वाचनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सहकार्य सघन बनाउन निर्देशन दिइएको गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए। ‘सीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन्।

चेकजाँच कडा पारिएको छ। निगरानी बढाइएको छ। सेनाको निगरानी पनि छ,’ गृह अधिकारीले स्पष्ट पारे। भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनलाई दुवैतर्फ अधिकतम चेकजाँच गर्ने सहमति प्रायस् सबै जिल्ला प्रमुख र भारतीय समकक्षीबीच यसअघि नै भएको हो। ‘शंका लागेकालाई नियन्त्रणमा लिएर सोधपुछ बढाइएको छ,’ प्रवक्ता दुवाडीले भने, ‘सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सबै पक्ष उत्तिकै सक्रिय र सुझबुझका साथ लागिपरेका छन्।

तीन घेराको सुरक्षा रणनीतिमा केही कार्ययोजना हेरफेर गरेर थप समन्वय गरिरहेका छौं।’ कतिपय स्थानमा तालिमप्राप्त कुकुर उपयोग गरिएको छ। सीसीटीभीमार्फत गरिने निगरानी पनि बढाइएको गृह अधिकारीहरूले बताए। नेपाली सेनाले पनि ब्याकअपमा रहेर यस्ता सबै पक्षको निगरानी गरिरहेको छ। सेनाले निगरानीमा कैयन् स्थानमा ‘ड्रोन’ को समेत उपयोग गरेको ती अधिकारीले बताए। ‘समन्वयमा कुनै कमजोरी रहेको भए पनि त्यसलाई चिर्न भरपुर प्रयास भइरहेका छन्,’ ती अधिकारीले भने। पछिल्लो पटक सुरक्षामा कमजोरी भएको भन्दै सरकारको आलोचना हुन थालेपछि सुरक्षा निकाय थप सक्रिय बनेका हुन्।

नेपाल–भारत खुला सीमा र सहज आउजाउको फाइदा उठाउँदै आपराधिक समूहबाट विस्फोटक पदार्थ र साना हतियार निर्वाचन लक्षित अवैध ओसारपसार हुन थालेपछि सुरक्षा निकाय थप सतर्क भएका छन्। निर्वाचनका लागि सबै खाले संयन्त्र चुस्त बनाउने क्रममा सीमा नाकालाई पनि ध्यान दिइएको हो। १९ गतेदेखि तीन दिनसम्म नाका नै पूरै बन्द हुनेछन्। कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : ३७ बजे