१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अन्तिम रस्साकस्सीमा शीर्ष नेता



काठमाडौं, १८ मंसिर ।
आगामी २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरण निर्वाचनका लागि मौन अवधि सुरु हुनै लाग्दा दलहरू नजिता आफ्नो पक्षमा पार्न अन्तिम रस्साकस्सीमा जुटेका छन्। दलहरूले सोमबार (आज) अधिकांश निर्वाचन क्षेत्रमा चुनावी सभा राखेका छन्। प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा एक दर्जन सभा तथा चुनावी र घरदैलो कार्यक्रममा सहभागी हुनेछन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि दर्जन बढी चुनावी कार्यक्रममा सहभागी हुँदै छन्। सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएसँगै प्रचारप्रसार गर्न नपाइने भएकाले दलहरूले अन्तिम दिन अधिकतम स्थानमा चुनावी सभाको आयोजना गर्ने तयारी गरेका हुन्।

मौन अवधि सुरु हुनु केही दिनअघिदेखि नै अधिकतम स्थानमा चुनावी सभा गरेका दलहरूले प्रचारको अन्तिम दिन पनि चुनावी सभा, गोष्ठी, घरदैलो कार्यक्रमलाई जारी राखेका हुन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार कैलाली र डडेल्धुराका आधा दर्जन बढी चुनावी सभालाई सम्बोधन गरे। उनले आइतबार डडेल्धुरामा मात्र अजयमेरू गाउँपालिका–५ र पर्शुराम नगरपालिकामा आयोजना गरिएको आमसभालाई सम्बोधन गरे। विभिन्न चुनावी कार्यक्रम, छलफल तथा भेटघाट गरेका उनले आइतबार बिहान नवदुर्गा मेलाको दर्शनसमेत गरेका थिए।

देउवा सोमबार पनि दर्जन संख्यामा चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ। उनको सचिवालयका अनुसार देउवा आज गन्यापधुरा गाउँपालिकाका दुईवटा स्थान, नवदुर्गा गाउँपालिका र आलटाल गाउँपालिकामा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गरी काठमाडौं आउँदै छन्। मंगलबार नै उनी डडेल्धुरा फिर्ता हुने कार्यक्रम छ। एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार उपत्यकाबाहिरका विभिन्न जिल्लामा चुनावी सभामा व्यस्त बने। अध्यक्ष ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर ३ मा आयोजना गरिएको चुनावी सभामा सहभागी बने। आइतबार नै ओली मोरङमा आयोजना गरिएको चुनावी सभामा सहभागी बने। उनले सोमबार प्रचारको अन्तिम दिन भने काठमाडौं र भक्तपुरमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन्। चुनावी सभाका अतिरिक्त उनी विभिन्न छलफल तथा भेटघाटमा व्यस्त हुने उनको सचिवालयले जनाएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार दिनभर चितवनका विभिन्न चुनावी कार्यक्रममा व्यस्त बने। बिहान शिवनगरमा पार्टी प्रवेश तथा घरदैलोमा उनी सहभागी बने भने दिउँसो जगतपुरमा आयोजित कोणसभासँगै आइतबार नै माडीमा आयोजित चुनावी सभालाई सम्बोधन गरे। दाहाललाई सहयोग गर्न एमाले अध्यक्ष ओलीसमेत चितवन पुगेका थिए। अध्यक्ष दाहाल सोमबार शिवनगरमा हुने पार्टी प्रवेश तथा घरदैलो र भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । चितवन–१ को चुनावी सभामा सहभागी बन्ने उनको सचिवालयले जनाएको छ । यस्तै उनी निर्वाचन क्षेत्र नम्बर १ को चुनावी सभामा समेत सहभागी हुने कार्यतालिका छ। राजधानी दैनिकबाट

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : ३९ बजे