८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चिसो मौसमलाई गायक प्रमोदले तताए



दिपक अनुरागी, कपिलवस्तु ।
चर्चित आधुनिक गायक प्रमोद खरेल स्टेजमा आउने कार्यक्रम सञ्चालकले दिउँसै देखि उद्घोषण अवधिभर पटक पटक जानकारी दिइरहेका थिए । विस्तारै साँझ पर्दै थियो तर प्रमोद कहिकतै देखिएनन । प्रमोदकै गीत सुन्नका लागि दिउँसै देखि युवायुवती व्यग्र प्रतिक्षामा देखिन्थे । कतिपय त प्रमोद आउने कुनै झाटकाट नदेखेपछि निरास भएर घर फर्किसकेका थिए । विस्तारै साँझ छिप्पिदै थियो, मौसम निकै चिसो थियो, हल्का हुस्सु लागेको थियो । तर पनि अधिकांश युवायूवती गायक प्रमोदकै प्रस्तुती हेर्न व्यग्र प्रतिक्षामा देखिन्थे । उनीहरु यति लालहित थिए कि चिसोको प्रवाह रत्ति पनि उनीहरुमा थिएन । विहानै देखि बाक्लो हुस्सु लागेको कारण प्रमोद निर्धारित समय भन्दा ढलो गरि यहाँ आएका हुन ।
साँझ ६ बजे तिर कार्यक्रम सञ्चालिकाले गायक खरेललाई मञ्चमा के बोलाउँन भ्याएकी थिएन । युवायुवतीको हुटिङले मञ्च गुञ्जमान बन्यो । कार्यक्रम सञ्चालिकाबाट माइक मागेर कपिलवस्तुबासीलाई नमस्ते गरे संगै उनले आफ्ना गीत लगातार प्रस्तुत गर्न थाले । पछिल्लो समय निकै चर्चामा रहेको “म बाँचेकै तिमि संग माया लाउन हो, मर्ने पनि अर्को जुनी तिम्लाई पाउँन हो” नामको बोलबाट आफ्नो प्रस्तुती प्रस्तुत गर्न थालेका उनले दुई घण्टा लगातार मञ्च तताएका हुन ।
लगत्तै उनले “म विना कसै कसैलाई मुस्किल छ चारनम्बरमा” बोलको गीत गाए । युवायुवती धोको फेरेर नाचे । मोबाइल, रेडियो, टिभिबाट सुन्न र हेर्न बानी पारेको यहाँका युवायुवतीलाई प्रत्यक्ष प्रमोदले गाएको गीत मार्फत नाच्न पाउँदा निकै आनन्द लागेको आभाष हुन्थ्यो । गायक खरेलले “झुक्कावाली”, “चल बतास चल” सहित आधा दर्जन आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ जीतपुर चारनम्बरको बुद्धरंगशालामा गत मंसिर २३ गते देखि जारी नवौं कपिलवस्तु महोत्सवमा दैनिक राष्ट्रिय कलाकारले प्रस्तुती दिइरहेका छन । राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारले दैनिक आफ्नो प्रस्तुती दिइरहेका हुन ।
महोत्सवको शनिबार सातौ दिनसम्म आइपुग्दा पप गायक नविन के भट्टराई, लोक तथा दोहोरी गायक पशुपति शर्मा, पप गायक कमल खत्री, दोहोरी गायक मिलन लामा, गायिका चन्दा अर्याल, गायक अर्जुन कौशल लगायतका एक दर्जन बढी लोक तथा आधुनिक गायकले आफ्नो प्रस्तुती देखाएको महोत्सवका संस्कृति तथा मनोरञ्जन संयोजक राजन आलेले जानकारी दिए ।
पौष ५ गते सम्म सञ्चालन हुने महोत्सवमा चर्चित गायिका इन्दिरा जोशि, पप गायक सुगम पोख्रेल, आधुनिक गायक शिव परियार, लोक तथा दोहोरी गायक रामजी खाँण लगायतले प्रस्तुत देखाउने उनले बताए ।

 

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  १२ : ३४ बजे