१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ओली भन्छन्, ‘बाम गठबन्धन तोड्ने प्रयास भो’



काठमाडौं, १५ पुस ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न गरेको प्रस्ताव वाम गठबन्धन तोड्ने प्रयास भएको बताउनुभएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘राष्ट्रनिर्माणको महाअभियान’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव माया गरेको नभइ गठबन्धन विथोल्ने प्रयास भएको आरोप लगाउनुभएको हो ।
ओलीले अब वाम गठबन्धन तोड्ने प्रयासहरु काम नलाग्ने दावी गर्नुभयो । वाम गठबन्धनले कम्तिमा ६ वटा प्रदेशसमा सहज रुपमा सरकार बनाउने भन्दै ओलीले सहि आर्थिक नीति तयार पारेर देश विकास गरिने बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अवसर र चुनौतीबीच गठबन्धन सरकार बन्न लागेको बताउनुभयो । ‘अबको सरकार अवसर र चुनौतीबीच बन्दै छ,’ दाहालले भन्नुभयो, ‘शान्ति, स्थायित्व र समृद्धि दिनुपर्छ ।
त्यसका लागि भ्रष्टाचार निर्मूल पार्न सक्नुपर्छ, यो अग्निपरीक्षा पनि हो ।’ आगामी १० वर्षमा समृद्धि दिन नसके पुनःराजनीतिक अप्ठ्यारो आउने उहाँको टिप्पणी थियो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि सबै दलहरुबीच समन्वयको आवश्यकता औंल्याउनुभयो ।

 

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  १२ : ४४ बजे