३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

राष्ट्रिय मेलमिलाप दिवस आज मनाईंदै



काठमाडौं, १६ पुस ।
विपी कोइराला सहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको ४१ वर्ष पूरा भएको छ ।
आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका कांग्रेस नेताहरु राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किनुभएको थियो ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वा्चित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्ष जेल चलान गरिएको थियो । जेलबाट छुटेपछि २०२५ सालमा विपीसहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो ।
तर भारतमा पटकपटक अपमानित समेत हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै विपीसहितका नेता बरु नेपालमा राजासँगै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै नेपाल फर्किएका थिए । तर त्रिभुवन विमानस्थलबाटै कांग्रेस नेताहरुलाई पक्रेर सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । त्यहि दिनको सम्झनामा पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो ।
आइतबार ४२ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाईंदैछ । देशभित्रका समस्या समाधानका लागि देशभित्रबाटै समाधान गर्नुपर्ने र सबैले आ–आफ्ना अडानबाट लचिलो हुनुपर्ने सन्देशसहितको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  ६ : ३२ बजे