४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परामर्शमा व्यस्त



बुटवल, ११ माघ ।
प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा र सरकार गठनका लागि आफू परामर्शमा रहेको बताउनुभएको छ । उहाँले संवैधानिक व्यवस्थाअनुरुप दुवै कामका लागि आफूले राजनीतिक दल, कानून विज्ञ तथा अन्य सरोकारवालासँग परामर्श गरिरहेको बताउनुभयो ।
प्रदेश प्रमुखको कार्यालयमा विहीबार आयोजित पत्रकार भेटघाटमा उहाँले कानूनमा भएको व्यवस्थाअनुसार तोकिएकै मितिभित्र बैठक बस्ने र सरकार गठन गर्ने स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनको नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको संसद् बैठक र ३० दिनभित्र प्रदेश सरकार निर्माण गर्ने र मुख्यमन्त्री चयन गरिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोहीअनुरुप काम हुने बताउनुभयो । माघ ७ गते पदभार ग्रहण गरेलगत्तै दैनिक कामकाज जारी रहेको बताउँदै प्रमुख झाले सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास दिलाउनुभयो । प्रदेश सरकारमा आफूहरुको अनुभव नभए पनि केन्द्रीय सरकार चलाएको आफूसँग अनुभव भएको बताउनुभयो ।
अस्थायी मुकाममा कार्यालय पूर्वाधारको व्यवस्था नभएकाले पनि संसद् बैठक आह्वानका लागि केही दिन लाग्नेछ । संसद् सञ्चालनका लागि कर्मचारीसमेत आउने क्रम बढेको प्रदेश सचिव सन्तकुमार दवाडीले बताउनुभयो ।
प्रदेश मन्त्रालयलगायत कार्यका लागि अस्थायी राजधानी भएकाले अस्थायी किसिमका पूर्वाधार निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ४ : ०६ बजे