२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मन्त्रीमण्डल विस्तारमा सकस, होलान त विष्णु पंथी मन्त्री !



मायादेवी अनलाइन, बुटबल ।
पाँच नम्बर प्रदेशको मन्त्री मण्डल विस्तारमा सकस भएको छ । मुख्यमन्त्री सहित दुई जना मन्त्रीले फागुन ३ गते नै शपथ लिएपनि मन्त्रीपरिषद् थप विस्तार हुन सकेको छैन ।
मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधार व्यवस्थापनसंगै मन्त्रीपरिषद विस्तार गर्ने बताउदै आएका छन् । तर एमाले र माओवादीभित्र मन्त्रीमा को जाने विषय नटुंगिएकाले मन्त्रीपरिषद विस्तारमा समस्या भएको हो । मन्त्रालयको संख्या बढाउने तथा सरकारमा संघीय समाजवादी फोरम पनि सहभागि हुने सम्भावना बढेपछि थप ढिलाई हुदै गएको छ ।
सात सदस्यीय मन्त्री परिषदमा एमालेका तीन, माओवादीका दुई र संघीय समाजवादी फोरमबाट एक मन्त्री राख्ने तयारी छ । एमालेबाट लिला गिरी मन्त्री बन्ने करिव पक्का भएपनि अन्य व्यक्तिको भने टुंगो लागेको छैन् । कपिलवस्तुबाट निर्वाचित सांसद विष्णु पन्थी पनि मन्त्री हुने सम्भावना छ । यी दुई सांसदले अर्थ र सामाजिक विकास मन्त्रालय सम्हाल्ने तयारी छ । यसअघि एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् । सरकारका प्रवक्ता समेत रहेका चौधरीले पूर्वाधार व्यवस्थापन लगत्तै मन्त्री मण्डल विस्तार हुने बताउनुभयो ।
माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी लिदै सरकारका सहभागि भए पनि उहाको दलले अझै अन्य मन्त्रीको टुंगो लगाएको छैन् । माओवादीमा दर्जनभन्दा बढी सांसदहरु मन्त्रीका आकांक्षी छन् ।
मन्त्रीका आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न मन्त्रीको संख्या थप गर्ने विषयमा समेत छलफल भएको छ । जनसंख्या र भुगोल ठूलो भएको भन्दै सांसदको १५ प्रतिशतको संख्यामा मन्त्री बनाउने तयारी समेत गरिएको छ । मन्त्री संख्या बढाउदा एमाले र माओवादी केन्द्रका केही सांसदहरु व्यवस्थापन हुनेछन् । लिंग, क्षेत्र, जातजाति समेट्न पनि मन्त्रीमण्डलको आकार केही बढाउनै पर्ने तर्क बलियो गरी उठेको छ । तत्कालका लागि भने सात सदस्यीय नै मन्त्रीमण्डल बन्ने बताइएको छ ।
प्रदेशमा हाल सात मन्त्रालय मात्रै खोलिएका छन् । कर्मचारी, भवन तथा गाडी व्यवस्थापन चुनौति बनिरहेको अवस्थामा मन्त्रीमण्डलको संख्या ठूलो बनाउन नहुने तर्क समेत छ । मन्त्रीमण्डल विस्तार भने मुख्यमन्त्रीले शपथ लिएको एक महिनापछि मात्रै हुने देखिएको छ । फागुन २७ गते मुख्यमन्त्री पोखरेलले संसदमा विश्वासको मत लिदैहुनुहुन्छ् । विश्वासको मत पाएपछि मन्त्रीपरिषद् विस्तार गर्ने योजना छ । तर २९ गते राष्टिपति निर्वाचन भएकाले फागुनमा मन्त्रीमण्डल विस्तार हुने सम्भावना कम रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४ शुक्रबार ००:००  ३ : ४१ बजे