२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

भुटानकी महारानी वाङ्चुक तिलौराकोट भ्रमणमा



मायादेवी अनलाइन, तौलिहवा ।
बुद्धस्थल अवलोकन भ्रमणका लागि भुटानकी महारानी आसी साङ्दे छोडेङ्ग वाङ्चुक शुक्रबार कपिलवस्तु आएकि छिन । दिउँसो जिल्लामा आएकि उनले निग्रोधराम कुदान र बुद्धको क्रिडास्थल तिलौराकोट दरबारको अवलोकन गरेकी छन् ।
महारानी वाङ्चुकले गौतमबुद्धले ज्ञान प्राप्त गरी पहिलो पटक कपिलवस्तु आउँदा आमा–बुवासँग भेट गरेको महत्वपूर्ण मानिएको स्थल निग्रोधराम, २९ वर्ष बिताएको ठाउँ तिलौराकोट र यहाँ उत्खनन् गरिएका पूर्वी र पश्चिमीद्धार, सुरक्षा पर्खाल लगायतको अवलोकन गरेकी हुन् ।
महारानी बाङ्चुकले अवलोकन गरेको तिलौराकोटमा हालै गरिएको उत्खननले प्राचिन तिलौराकोट दरबारको थप प्रमाणहरु भेटिएका छन । तिलौराकोट दरबार बुद्धकालिन समय भन्दा तीन सय बर्ष अघि नै ब्यवस्थित शहर रहेको तथ्य भेटिएको छ । बुद्धको जन्म २५ सय बर्ष अघि भएको इतिहासमा छ तर त्यस भन्दा अघि नै यहाँ मानव सभ्यता र शहर रहेको पुष्टी भएको कुरा पुरातत्व अधिकृत हिमाल उप्रेतीले महारानी वाङ्चुकलाई जानकारी गराएका थिए ।
अवलोकन पश्चात् पुरातात्विक क्षेत्र उत्खनन कार्यमा पुरातत्वविद्हरुको भूमिकाबारे महारानी वाङ्चुकले सरहाना गरेकी थिइन् । यसअघि, शुक्रबार बिहान महारानी वाङ्चुकलाई निग्रोधराम कुदानमा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवाली, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, प्रमुख जिल्ला अधिकारी मदन भुजेललगायतले स्वागत गरेका थिए ।
उनलाई निग्रोधराम कुदान र तिलौराकोट दरबार क्षेत्रकाबारेमा पुरातत्व अधिकृत हिमाल उप्रेतीले पथ प्रर्दशन गरेका थिए । लुम्बिनी भ्रमणमा रहेकि महारानी वाङ्चुक त्यहाँबाट तिलौराकोट अवलोकनका लागि कपिलवस्तु आएकी हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४ शनिबार ००:००  १ : ३३ बजे