१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

उरुग्वेको विजयी सुरुवात, इजिप्ट पराजित



एजेन्सी, मस्को ।
विश्वकप २०१८ मा उरुग्वेले विजयी सुरुवात गरेको छ । समूह एमा रहेको उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले हराएको हो ।
उरुग्वेका लागि खेलको ८९ औँ मिनेटमा कार्लोस सान्चेजले हानेको फ्रिकिकमा होजे गिमिनेजले हेडमार्फत सुन्दर गरेका हुन् । उरुग्वेले थुप्रै पटक गोल गर्ने अवसर सिर्जना गरे पनि इजिप्टका रक्षक बाधक बनेका थिए । इजिप्टले सम्हालिएको खेल खेले पनि अन्तिममा गोल खान पुगेको थियो । बार्सिलोना स्टार स्वारेजले थुप्रै मौका पाए पनि गोल गर्न चुकेका थिए । तर एथलेटिको मड्रिड स्टार गिमिनेजले गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरे ।
खेलको ७३ औँ मिनेटमा स्टार खेलाडी लुइस स्वारेजले गोल गर्ने सुनौलो अवसर गुमाएका थिए । इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह भने चोटका कारण आजको खेलमा बेञ्चमै बसेका थिए ।
समूह एमा आयोजक राष्ट्र रुस ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने उरुग्वे समान अंकका साथ दोस्रो स्थानमा रहेको छ । रुसले बिहीबारको उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराएको थियो । समूहका विजेता र उपविजेता टोली अर्को चरणमा पुग्नेछन् ।

प्रकाशित मिति : १ असार २०७५ शुक्रबार ००:००  ३ : ०४ बजे