१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

आइसल्याण्ड र अर्जन्टिना बीचको खेल बराबरी



एजेन्सी, मस्को ।
विश्वको डेब्यू खेलमै आइसल्याण्डले अर्जे्न्टिनालाई बराबरीमा रोकेको छ । लिओनल मेस्सी पेनाल्टीमा चुकेका थिए ।
शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जे्न्टिना र आइसल्याण्डले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १–१ को बराबरीमा रोकेको थियो । खेलपछि क्रिष्टियानो रोनाल्डोले आइसल्याण्डको डिफेन्सिफ खेलको आलोचना गर्दै पोष्ट अगाडि बस राखेको बताएका थिए ।
विश्वकपमा डेब्यू गर्दा पनि आइसल्याण्डले आफ्नो पुरानै शैलीको खेललाई निरन्तरता दिएको छ ।
खेलमा अग्रता भने अर्जे्न्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको छ ।
अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् ।
दोस्रो हाफमा सर्जिओ एग्युरोलाई लडाएपछि अर्जे्न्टिनाले पेनाल्टी पाएको थियो । तर, मेस्सी गोल गर्न चुकेका छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सीको पेनाल्टीलाई हृयाण्ड्स हालडोसनले सहजै रोकिदिएका छन् ।

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  ३ : २९ बजे