१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

विश्व कप २०१८ : जर्मनी पराजित, ब्राजिल स्विटजरल्याण्ड संग बराबरीमा रोकियो



एजेन्सी, मस्को ।
विश्वकप फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा मेक्सीको र सर्विया विजयी हुँदा जर्मनी पराजित भएको छ । यस्तै सोमबार विहान सम्पन्न खेलमा स्विटजरल्याण्ड र ब्राजिल बराबरीमा रोकिएका छन् ।
मेक्सिकोले जर्मनीलाई पहिलो पटक हराउँदै इतिहास रचेको छ । समूह एफ अन्तरगतको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले स्तब्ध पारेको हो । मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरे ।
जर्मनी सन् १९८२ यता ३६ बर्षपछि विश्वकपको पहिलो खेलमा पहिलो पल्ट हारेको छ । जर्मनीले थुप्रै पटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । समूह एफमा दक्षिण कोरिया र स्वीडेनका साथै मेक्सिको र जर्मनी रहेका छन् ।
यस्तै विश्वकपको दावेदार मानिएकोे ब्राजिल पनि पहिलो खेलमै बराबरीमा रोकिएको छ । ब्राजिललाई समूह ’ई’ को खेलमा स्विट्जरल्यान्डले १– १ गोलको बराबरीमा रोकेको हो ।
खेलमा अग्रता ब्राजिलले लिए पनि त्यो धेरै बेर टिक्न सकेन । खेलको २० औँ मिनेटमा ब्राजिलका फिलिप काउटिन्होले गोल गरे ।
त्यसपछि पहिलो हाफमा खेल एक शुन्यले सकियो । पहिलो हाफमा ब्राजिललाई कडा टक्कर दिएको स्विटजरल्याण्डले दोश्रो आफमा भने गोल गर्न सफल रह्यो । स्विट्जरल्यान्डले ५० मिनेटमा बराबरि गोल फर्काए पनि त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले स्विस पोस्टमा बढी चार्ज गरेपनि पटकपटक चुक्दा अंक बाँड्न बाध्य भयो ।
यो सँगै समूहमा सर्विया शीर्ष स्थानमा छ। सर्वियाले कोस्टारिकालाई पराजित गरे र शीर्ष स्थानमा रहन सफल भएको हो । हिजो नै सर्वियाले कोष्टारिकालाई १ शुन्य गोलले पराजित गरेको हो ।
विश्वकप फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा सर्वियाले कोष्टारिकासँग १ शून्यको जित हात पारेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निकै प्रयास गरेपनि गोल गर्न भने सकेनन् ।
जारी विश्वकपमा ठुला टिमहरु विरुद्ध साना भनिएका टिमले चामत्कारिक प्रदर्शन गरेका छन् । ब्राजिल र अर्जेन्टिना स्विटजरल्याण्ड र आइसल्याण्डसंग बराबरीमा रोकिनु, मेक्सीको जर्मनीसंग पराजित हुनुलाई खेल पण्डितहरुले चामत्कारिक नतिजा भनेका छन् ।
विश्वकप अन्तर्गत सोमबार पनि ३ खेल हुँदै छन् । पहिलो खेलमा आज साँझ पौने ६ बजे समुह एफका स्विडेन र दक्षिण कोरिया भीँड्ने छन् भने राति पौने १० बजेको खेलमा समुह जिका बेल्जियम र पानामा तथा राति पौने १२ बजे इङल्याण्ड र ट्युनिसया भीँड्ने छन् ।
जारी विश्वकपमा बलिया मानिएका टिम राम्रो सुरुवात गर्न चुकिरहेका छन्। डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले पराजित गर्दा अर्जे्न्टिनालाई आइसल्यान्डले बराबरीमा रोकेको थियो ।

प्रकाशित मिति : ४ असार २०७५ सोमबार ००:००  १२ : ५५ बजे