२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

ट्युनिसिया माथि इंग्ल्याण्डको संघर्षपूर्ण जित, आज पनि तीन खेल हुँदै



एजेन्सी, मस्को ।
विश्वकप फुटबल अन्तर्गत मंगलबार विहान भएको समूह ‘जि’ को खेलमा इंग्ल्याण्डले जित हात पारेको छ । अन्तिम समयमा ट्युनिसिया सम्हालिन नसक्दा इंग्ल्याण्डसँग २–१ गोलअन्तरले पराजित भएको हो ।
थप गरिएको अतिरिक्त समयमा कप्तान ह्यारी केनले दोस्रो ब्यक्तिगत गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए । ट्युनिसिया अन्तिम समयमा चुक्न पुग्यो । रक्षात्मक खेल खेल्न खोजेको ट्युनिसिया अन्तिम समयमा हारेको हो ।
पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । इंग्ल्याण्डले खेलको ११ औं मिनेटमा नै अग्रता बनाएको थियो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले कर्नर प्रहारबाट आएको बललाई ट्युनिसियाको जाली चुमाएका थिए ।
खेलको ३५औं मिनेटमा ट्युनिसियाले पेनाल्टी पाएको थियो । इंग्ल्याण्डका खेलाडीले आफ्नो डिबक्सभित्र ट्युनिसियाका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा फेर्जानी ससीले गोल गर्दै ट्युनिसियालाई बराबरीमा पुर्याएका हुन् । खेल अवधिभर आफ्नो पकडमा बल राखेको इंग्ल्याण्डले एकपछि अर्को मौका गुमाएको थियो । जितसँगै इंग्ल्याण्डले महत्वपूर्ण ३ अंक बटुलेको छ ।
आज पनि तीन हुँदै
यसैबीच विश्वकपमा आज पनि तीन खेल हुदैछन । पौने ६ बजे हुने पहिलो खेलमा कोलम्बिया र जापान भिड्ने छन भने पौने ९ बजे हुने दोस्रो खेलमा पोल्याण्ड र सेनेगल बीच हुने छ । यसैगरि आयोजना राष्ट्र रुसले आफ्नो दोस्रो खेल अन्तर्रगत इजिप्टको सामान गर्दैछ । रुसले पहिलो खेलमा साउदीअरबलाई ५–० ले हराएको थियो । इजिप्ट भने आफ्नो पहिलो खेलमा उरुग्गे संग पराजित भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७५ मंगलबार ००:००  २ : ०९ बजे