३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

उरुग्वेले साउदीअरबलाई हरायो, प्रिक्वाटर फाइनलमा प्रवेश



एजेन्सी, मस्को ।
आयोजक रसिया र उरुग्वे विश्वकप फुटबलअन्तर्गत समुह ‘ए’ बाट नकआउट चरणमा प्रवेश गरेका छन् । उरुग्वेले गएराती भएको खेलमा साउदी अरबलाई १–० गोलअन्तरले पराजित गरेसँगै समूह ए बाट रसिया र उरुग्वे एक खेल खेल्नु अघि नै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
साउदी अरबलाई उरुग्वेले १–० गोलको जित निकाल्न सफल भयो । खेलको २३औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा दुबै टिमले गोल गर्ने राम्रो अवसर खेर फालेका थिए ।
१–० गोलले पछि परेको साउदी अरबले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन । दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसकेपछि उरुग्वेले खेल १–० गोलले जितेको हो ।
उरुग्वेले साउदी अरबलाई पराजित गरेसँगै समूह ए बाट अन्तिम १६ मा पुग्ने टिमको छिनोफानो लागेको छ । रसिया र उरुग्वे लगातार दुई खेलमा जित हात पार्दै नकआउट चरणमा पुग्दा साउदी अरब र इजिप्ट भने समूह चरणबाटै बाहिरिएका छन् । यद्यपी समूह चरणको अन्तिम खेल भने चारै राष्ट्रले खेल्न बाँकी छ । उरुग्वे र आयोजक रसियाबीचको अन्तिम खेलले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
यसअघि भएको खेलमा आयोजक रसियाले साउदी अरबलाई ५–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा इटिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । यता उरुग्वेले भने पहिलो खेलमा इजिप्टलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०७५ बिहिबार ००:००  २ : ४७ बजे