२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

उरुग्वेद्धारा रुस ३–० ले पराजित



एजेन्सी, मस्को ।
घरेलु टोली रुसलाई पराजित गरी उरुग्वे विश्वकप फुटबलको समूह ए बाट विजेता बनेको छ । समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा उरुग्वेले १० खेलाडीमा सीमित आयोजक रुसलाई ३–० गोलले हरायो ।

सामारा एरिनामा घरेलु टोलीले खेलको दशौं मिनेटमै गोल खाएको थियो । यसअघि साउदी अरबविरुद्धको जितमा गोल गरका लुइस स्वारेजले आज पनि सुरुवाति गोल गरेका थिए ।

२३औं मिनेटमा उपहार गोलमार्फत उरुग्वेले अग्रता दोब्बर बनायो । डिएगो स्वारेजले डिबक्स बाहिरबाट गरेको शशक्त प्रहार क्लियर गर्न लाग्दा रुसका डेनिस चेरिसेभले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

खेलको ३६औैं मिनेटमा रुस १० खेलाडीमा समेटियो । उसका डिफेण्डर इगर स्मोल्निकोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिन बाध्य भए । त्यसपछि रुसले रक्षात्मक खेल्न बाध्य भयो ।

तर, खेलको अन्तिम समयमा एडिन्सन काभानीले गोल गर्न सफल भए । जारी विश्वकपमा पीएसजी फरवार्ड काभानीको यो पहिलो गोल हो ।

यसअघिका दुई खेलमा साउदी अरब र इजिप्टविरुद्ध सहज जित हासिल गरेको रुस दुई पटकको च्याम्पियन उरुग्वेसँग भने कमजोर देखियो । यद्यपि समूह उपविजेताका रुपमा उसले नकआउट चरणमा स्थान बनाएको छ ।

समूह ए को विजेता उरुग्वेले प्रिक्वार्टरफाइनल चरणमा समूह बीको उपविजेतासँग तथा समूह एको उपविजेता रुसले समूह बी को विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : ११ असार २०७५ सोमबार ००:००  ५ : ४७ बजे