२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

विश्वकपमा पोर्चुगल र स्पेन अन्तिम १६ मा प्रवेश



एजेन्सी, मस्को ।
विश्वकप फुटबल प्रतियोगितामा समूह ’ए’ र ’बी’बाट नकआउट चरणमा पुग्ने टिमको टुंगो लागेको छ । दुवै समूहका खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो ।
समूह ’ए’ बाट उरुग्वे विजेता र आयोजक रसिया उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन् भने समूह ’बी’ बाट स्पेन समूह विजेता र पोर्चुगल उपविजेता बनेर अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए ।
गएराति उरुग्वेले आयोजक रसियालाई ३–० गोलले पराजित गरेको हो । उरुग्वेले लगातार ३ खेल जित्दा रसियाले २ जित र १ हार बेर्होयो। उरुग्वे विश्वकपमा अन्तिम १६ मा पुगेको यो लगातार तेस्रो पटक हो । यस्तै उरुग्वेले विश्वकपका समूह चरणमा तीनै खेल जितेको यो पहिलो पटक हो ।
१० खेलाडीमा सीमित भएको रसियामाथि उरुग्वेका लुईस सुआरेज र काभानीले गोल गरे भने एक गोल रसियाका खेलाडीको खुट्टामा लागेर पोष्टमा छिरेको थियो ।
यस्तै मंगलबार बिहान सम्पन्न खेलमा स्पेन मोरक्कोसँग २–२ गोलको बराबरीमा रोकियो। मोरक्कोले दुई पटक अग्रता लिएपनि स्पेनले बराबरी गोल फर्काएको थियो । १४ मिनेटमा बाउटाइबले गोल गरेर मोरक्कोलाई अग्रता दिलाए पनि इस्कोले १९ मिनेटमा बराबरी गोल गरे । । ८१ औँ मिनेटमा इननेग्रसीले गोल गरेर मोरक्कोलाई दोस्रो पटक अग्रता दिलाए । तर इन्जुरी टाइममा इयागो अस्पासले स्पेनका लागि बराबरी गोल फर्काएपछि खेल बराबरीमा रोकियो ।

यता पोर्चुगल र इरानले पनि १–१ को बराबरी खेले । बराबरीपछि इरान बाहिरिदा पोर्चुगल अन्तिम १६ मा पुग्यो । पोर्चुगलका लागि क्वारिज्माले पहिलो हाफको ४५ औँ मिनेटमा गोल गरे । दोस्रो हाफमा पोर्चुगलले पेनाल्टी पाए पनि क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहारलाई इरानका गोलकिपरले बिफल पारे । इरानले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत बराबरी गोल फर्कायो। करिमले इरानका लागि पेनाल्टी मार्फत बराबरी गोल गरेपनि दोस्रो चरणका लागि पर्याप्त हुन सकेन ।
प्रतियोगितामा मंगलबार पनि समुह सिका ४ खेल हुँदै छन् । राति पौने ८ बजे पहिलो खेलमा अष्ट्रेलिया र पेरु तथा डेनमार्क र फ्रान्सबीच प्रतिस्पर्धा हुने छ भने राति पौने १२ बजेको खेलमा अर्जेन्टिना र नाइजेरिया तथा आइसल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुने छ ।
पहिला २ खेल खेलमा जित हासिल गरेको फ्रान्स आज लगातार जित हासिल गरी समुह विजेता बन्ने लक्ष्यमा छ भने अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ । मंगलबारको खेलमा नाइजेरिया माथि स्पष्ट जित निकाल्न नसके अर्जेन्टिना विश्वकपबाट बाहिरिने छ । अर्जेन्टिना र नाइजेरिया बराबरी खेले पनि अर्को खेलमा क्रोएसियामा आइसल्याण्डले जित हासिल गर्न सके मात्र अर्जेन्टिनाको अन्तिम १६ लक्ष्य पुरा हुने छ । नाइजेरियाका मुसा निकै फर्ममा रहेका कारण उनलाई रोक्न मेस्सीको टिम अर्जेन्टिनालाई हम्य हम्य हुने छ । आजको खेलमा मेस्सीको जादु चल्नेमा धेरै आशावादी देखिएका छन् ।

प्रकाशित मिति : १२ असार २०७५ मंगलबार ००:००  १ : २३ बजे