८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

प्रकाण्ड सहितका नेताहरुको रिहाईको माग गर्दै विप्लब माओबादीद्वारा कोणसभा



सीताराम चौधरी, चन्द्रौटा ।
नेपाल कम्यूनिस्ट पाटी (बिप्लब)ले शुक्रबार कपिलवस्तुको तीन स्थानमा कोणसभा सम्पन्न गरेका छन् । सरकारद्वारा गिरफ्तारीमा परेका आफ्ना पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरुको रिहाईको माग गर्दै सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत कोणसभा गरेको हो ।
देशव्यापी कोणसभा अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका, बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकामा कोणसभा सम्पन्न गरेको संघप्रसाद थारुले जानकारी दिए । थारुका अनुसार शिवराज नगरपालिकाको हल्लानगरमा सम्पन्न कोणसभामा जनमुक्ति र नरेन्द्र थापाले सम्बोधन गरेका थिए ।
बाणगंगा नगरपालिकाको प्रगतिनगरमा शान्तिपूर्ण तरिकाले कोणसभा सम्पन्न गरेको थारुले जानकारी दिएका छन् । कोणसभामा सेरमन थारु र शम्भु थारुले सम्बोधन गरेको बताइएको छ । यस्तै मायादेवी गाउँपालिकाको महदेवामा समेत बिप्लब पार्टीको कोणसभा सम्पन्न भएको छ । त्यहाँको कोणसभामा गंगाराम कहाँर र कृपाल कोरीले सम्बोधन गरेको नेपाल कम्युनिस्ट पार्टीका नेता संघप्रसाद थारुले जानकारी दिएका छन् । कार्यकर्ता गिरफ्तारीको विरोधमा विप्लब माओबादीले साउन २६ गते विरोधसभा, २७ गते भण्डाफोर कार्यक्रम, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कपिलवस्तुले प्रेसविज्ञप्ती जारी गर्दै नेकपाका कार्यकर्ताहरुलाई रिहाईको माग गरेको छ । नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड) सहितका नेताको गिरफ्तारी र चर्को यातनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ती जारी गरेको हो । जिल्ला संयोजक दिनेश चापागाईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भ्रष्टाचार, कालोबजारी, बलत्कार, अपहरण, सीमा अतिक्रमण जस्ता समस्याले देश जर्जर बनेको भन्दै सरकार मनोगत ढङ्गले कर असुलीतर्फ लागेको आरोप समेत लगाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७५ शनिबार ००:००  १२ : ३९ बजे