८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बहिनीको शैक्षिक सुधारमा दिदी खटिए



बाबुराम रायमाझी, कपिलवस्तु ।
कपिलवस्तुको दक्षिणी क्षेत्रमा शैक्षिक अवस्था कमजोर भएपछि शैक्षिक सुधारमा वहिनी शिक्षाका लागि दिदी कार्यक्रमको अवधारणा शुरु भएको छ । विद्यालयमा बालिकाहरुको नियमितता तथा विद्यालय छाड्ने दर बढेसंगै बहिनीको शैक्षिक सुधारमा दिदी खटिएका हुन् । मायादेवी र शुद्धोधन गाउँपालिकाका ८९ जना बड्की दिदीले ३ सय ५६ जना छोट्की बहिनीको शिक्षामा सुधार ल्याउन प्रत्यक्ष सघाएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित बहिनी शिक्षाका लागि दिदी कार्यक्रमका सहभागीले विद्यालयमा बालबालिकाहरुको शैक्षिक सुधार भएको बताएका छन् । कपिवस्तुमा संचालित पिक परियोजनाबाट संचालित छोट्की बहिन खातिर शिक्षा कार्यक्रमले बालिका शिक्षाको सुधारमा उल्लेखनीय परिवर्तन ल्याएको सरोकारवालाले बताए ।
बड्की दिदीले समुदायका छोट्की बहिनीको विद्यालयमा पहुँच, निरन्तरता, शैक्षिक गुणस्तर तथा सिकाई उपलब्धी बृद्धि गर्नमा विशेष जोड दिएका छन् । कार्यक्रम अन्तरगत उनीहरुले बालबालिकाहरुको शैक्षिक स्तरमा सुधार ल्याउन विशेष कक्षा समेत संचालन गर्दै आएका छन् । विशेष कक्षाका अतिरिक्त बड्की दिदीले समुदायका संरचनागत अवरोध तथा कुसंस्कार विरुद्ध अभिभावकलाई सचेतना समेत गर्दै आएको पिक परियोजनाका टिमलिडर नारायण घिमिरले बताए । स्वयंसेवी भावनाले बड्की दिदीले गाउँका वहिनीहरुको वैयक्तिक समस्या तथा विद्यालय प्रतिको रुची जगाउने कार्यमा व्यक्तिगत तथा समूहगत रुपमा छलफल गरेर विद्यालय छाड्ने दरमा कमी ल्याउदै विद्यालय पहुँचमा मद्दत गरेको परियोजनाका बाल समन्वय प्रमुख यादव भुसालले जानकारी दिए । विद्यालय तथा समुदायमा विभिन्न सामाजिक कृयाकलाप मार्फत शैक्षिक वातावरण निर्माणमा लागि बड्की दिदीले विशेष भुमिका निर्वाह गरेको श्रोत व्यक्ति गिता अर्यालले बताइन् ।
कार्यक्रममा सहभागी शिक्षक तथा अभिभावकले गाउँपालिकाले विद्यालयको स साना समस्यामा पनि ध्यान दिन नसकेको बताएका थिए । बहिनी शिक्षाका लागि दिदी कार्यक्रमको समिक्षा कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले परियोजनले आफनो गाउँपालिकाको शिक्षाको सुधार धेरै सहयोग पुगेको बताउदै आगामी दिनमा कन्या क्याम्पस संचालन गर्ने आवश्यकता देखिएकोले आफु पुरा गर्न प्रतिवद्ध भएको बताए । त्यस्तै मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंजी प्रसाद चौधरीले परियोजनाबाट संचालित कार्यक्रमले बालिका शिक्षा, गुणस्तरीय शिक्षामा जोड दिएकाले गाउपालिकाले दिगो रुपमा लैजान आगामी दिनमा निरन्तरता दिएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले जिल्लाको शैक्षिक समस्यालाई कम गर्न विभिन्न स्थानीय तहसंग समन्वय गर्ने बताए । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक पोम नारायण पौडेल, ग्लोबल एक्सन नेपालका सन्तोष महर्जन, वडा अध्यक्ष कृष्ण नारायण तिवारी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी, श्रोत प्रशिक्षक ओम प्रकाश बाँनिया लगाएतले बाल अधिकार र शैक्षिक क्षेत्रको सुधारमा स्थानीय सरकारले शिक्षामा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७५ सोमबार ००:००  ५ : ४३ बजे