८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लब माओबादीद्वारा मसाल जुलुस



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल कम्यूनिस्ट पार्टी (बिप्लब)ले साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ । आफ्नो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेताहरुको रिहाईको माग गर्दै नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दको पूर्वसन्ध्यामा विभिन्न स्थानमा मसाल जुलुस सम्पन्न गरिएको नेकपाको दाबी छ । सोही क्रममा कपिलवस्तुको छुट्टाछुट्टै तीन स्थानमा मसाल जुलुस सम्पन्न भएको नेकपाका जिल्ला सेक्रेटरी सुनिल थारुले जानकारी दिनुभयो ।
थारुका अनुसार शिवराज नगरपालिका, वाणगंगा नगरपाकिला र मायादेवी गाउँपालिकामा मसाल जुलुस सम्पन्न गरेको छ । शिवराज नगरपालिका १, उमरी चोकमा मसाल जुलुस निकाली कोणसभा सम्पन्न भएको जिल्ला सेक्रेटरी थारुले जनाउनुभयो । हातमा मसालसहित ¥याली निकाली उमरी चोकमा कोणसभा गरिएको थारुले बताउनुभयो । कोणसभामा सम्बोधन गर्दै जिल्ला इन्चार्ज संगम पुनले नेपाल बन्दलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने आग्रह गर्नुभएको बताइएको छ । बन्दमा यातायात, बजार, कलकारखाना, शिक्षण संस्था सम्पूर्ण ठप्प पारिने पुनको भनाई छ । बन्दको अवज्ञा गरेमा जवाफदेही आफैं हुनुपर्ने समेत उहाँले चेतावनी दिनुभयो । प्रेम थारुको संचालनमा सम्पन्न कार्यक्रममा ५० बढीको सहभागिता रहेको जिल्ला सेक्रेटरी सुनिल थारुले बताउनुभयो ।
यस्तै बाणगंगा नगरपालिका ३, भक्तौली चोकमा ३० बढीको संख्यामा नेता कार्यकर्ताको उपस्थितिमा मसाल जुलुस सम्पन्न गरिएको जिल्ला सेक्रेटरी थारुले बताउनुभयो । मसाल जुलुसपछि कोणसभामा आकाश पुनको संचालन र १ नम्बर इलाका सेक्रेटरी सेरमन चौधरीको सम्बोधन रहेको थियो । यसका साथै मायादेवी गाउँपालिका ५, शान्तिचोकमा शान्तिपूर्ण रुपमा मसाल जुलुस सम्पन्न गरेको जिल्ला सेक्रेटरी थारुले बताउनुभयो ।
इलाका सदस्य बर्साती कोरीको संचालन रहेको कोणसभामा ३ नम्बर इलाका सेक्रेटरी कृपाल कोरीको सम्बोधन रहेको बताइएको छ । कार्यक्रममा ३५ बढीको सहभागिता रहेको जिल्ला सेक्रेटरी सुनिलको भनाई छ । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, शव बाहन, विवाह, दूधका सवारी र कूटनैतिक नियोगका सवारीसाधन बाहेक सम्पूर्ण बन्द रहने जिल्ला सेक्रेटरी थारुले बताउनुभएको छ ।
आफ्ना नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेता, कार्यकर्तालाई अबैध चन्दा उठाएको आरोप लगाउँदै गिरफ्तारी गरेको विरोधमा नेकपाले आन्दोलनको घोषणा गरेको हो । नेकपाले विना कारण गिरफ्तार गरेको आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ । आफ्नो नेता कार्यकर्तालाई सरकारले रिहाई नगरे अझ कडा आन्दोलनमा उत्रने नेकपाले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७५ सोमबार ००:००  ५ : ५५ बजे