८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

विप्लवको नेपाल बन्द : प्रदेश ५ का विभिन्न जिल्लामा बम विष्फोट



मायादेवी अनलाइन, कपिलवस्तु ।
आफ्नो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेताहरुको रिहाईको माग गर्दै नेकपा (विप्लव समूह) ले गरेको नेपाल बन्दको प्रदेश ५ मा आंशिक प्रभाव परेको छ । विप्लव समूहको सामान्य बाहुल्यता रहेका जिल्लाहरु कपिलवस्तु, रोल्पा, दाङ, नवलपरासी, रुपन्देही, प्युठान, गूल्मी, पाल्पा लगायतका जिल्लाहरुमा बन्दको प्रभाव देखिएको छ । आंशिक बन्द रहेका जिल्लाहरुमा लामो तथा छोटो दुरीका सवारी, उद्योगभन्दा, शिक्षण संस्था, कलकारखाना चल्न सकेका छैनन भने एम्बुलेन्स, प्रेस, शव बाहन, विवाह, दूधका सवारी र कूटनैतिक नियोगका सवारीसाधन चलेका छन । प्रदेश ५ को अस्थायी मुकाम रुपन्देहीको बुटबलबाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

बन्दको पूर्व सन्ध्यामा कपिलवस्तुको वाणगंगा ११ देउवापारमा सोमबार राती विष्फोट गराईएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बम विष्फोट गराएको ठुलै आवाज सुनिए पनि कुनै क्षति नभएको प्रहरीको भनाई छ । जसका कारण सदरमुकाम तौलिहवा आवतजावत गर्ने सवारी साधन चल्न सकेका छैनन भने जिल्लाका मुख्य बजार ४ नं. जीतपुर, इमिलिया, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, कृष्णनगर लगायतका स्थानमा बन्दको प्रभाव देखिएको छ । नेकपाका कार्यकर्ताहरु सडकमा नदेखिए पनि बन्द प्रभाव देखिएको हो । उद्यपी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकोछ ।

उता बन्दको पूर्ब सन्ध्यामा बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट भएको छ । बिष्फोटबाट क्याम्पको शौचालयमा क्षति भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्लले घटनाको पुष्टि गर्दै शौचालयमा धेरै क्षति भए पनि मानवीय क्षति नभएको बताउनुभयो । बिष्फोटको आवाज बुटवलको बजारसम्म फैलिएको स्थानीयले बताएका छन । बिष्फोट कसले गराएको भन्नेबारे अनुसन्धान जारी छ ।

रोल्पाको सुलिचौर बजार क्षेत्र आसपासमा पनि बम बिष्फोट भएको खबर छ । सोमबार साँझ साढे ८ बजे तिर बजार आसपासमा शक्तिशाली बम बिष्फोट भएको हो । पत्रकार गोबिन्द बिश्वकर्माले दिएको जानकारी अनुसार नेपाल बन्दको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीले मशाल जुलुश गरेको केही समय पछि उक्त बिष्फोट भएको हो । वम विस्फोट भएको स्थान नजिक एनसेल र नेपाल टेलिकमको टावर रहे पनि कहाँ लक्षित गरेर वम विस्फोट गरिएको हो भन्ने खुल्न नसकेको वताइएको छ । वम विस्फोट पछि सुलिचौरवासी त्रसित वनेको वताइएको छ ।

पछिल्लो समय गृह मन्त्रालय विप्लव समूहप्रति आक्रमक रुपमा प्रस्तुत भएका कारण पनि उक्त समूहका कार्यकर्ताहरु सडकमा नदेखिएका हुन । सरकारले बन्द, हत्या हिंसा, समाजमा विग्रह ल्याउने प्रकारका गर्नेलाई कडा कार्रबाही गर्ने गरि काम अगाडी बढाएको छ ।
नेकपाले विना कारण गिरफ्तार गरेको आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्ने बताएको छ । आफ्नो नेता कार्यकर्तालाई सरकारले रिहाई नगरे अझ कडा आन्दोलनमा उत्रने नेकपाले चेतावनी दिएको छ । पछिल्लो समय विप्लव समूहका प्रबक्ता प्रकाण्ड पक्राउ परेपछि सरकारप्रति उक्त समूह झन् रुष्ट बनेको छ ।

मायादेवी अनलाइनलाई प्राप्त सुचनाअनुसार साँझ ५ बजेबाट बन्द खुल्ला हुनेछ । विप्लव समूहका एक जना नेताले सरकार आफ्ना मागमा संवेदनशील नभए अझै कडा रुपमा आन्दोलन चर्काउने हामीलाई बताए । उता मुलुकको राजधानी काठमाण्डौ लगायतका स्थानहरुमा भने बन्दको आंशिक प्रभाव देखिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५ मंगलबार ००:००  २ : २१ बजे