८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

नेकपा कपिलवस्तुको अध्यक्षमा झविलाल पोख्रेल, यस्ता छन् प्रदेश ५ का जिल्ला अध्यक्ष (नामावली सहित)



काठमाडौं ।
नेकपाले एक दर्जनभन्दा बढी जिल्लाको नेतृत्व टुंगो लगाएको छ । नेकपाका पूर्वघटक पार्टीका जिल्ला नेताको जिल्लास्तरमै बनेको कार्यादलले अहिलेसम्म झन्डै १५ जिल्लाको पार्टी अध्यक्ष टुंगो लगाएका हुन् । प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ । मोरङ, मुस्ताङ लगायत जिल्लाको पनि अध्यक्षको अन्तिम टुंगो लागिसकेको छ ।
प्रदेश ५ का १२ जिल्लामध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्व माओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका छन् । यो प्रदेशबाट जिल्ला अध्यक्ष हुनेहरूको नाम समेत प्रदेश कार्यदललाई सर्वसम्मत सिफारिस भइसकेको नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए ।
पूर्व एमालेले दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा जिल्लाको अध्यक्ष पाएको छ । पूर्वमाओवादीले बर्दिया, बाँके, पूर्वी रुकुम, रोल्पा र नवलपरासीको अध्यक्ष पाएको छ । अध्यक्ष पूर्व एमालेले पाएका जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएका जिल्लामा सचिव एमालेतर्फका नेताले पाएका छन् ।

कपिलवस्तुमा झविलाल पोख्रेल, दाङमा शिव आचार्य, प्यूठानमा तुलसीराम शर्मा, अर्घाखाँचीमा पीताम्बर आचार्य, रूपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बाला काउत्छा, पाल्पामा राधाकृष्ण कँडेल, मुस्ताङमा रमेश भट्टचन र मोरङमा ऋषि पोखरेलले अध्यक्ष पाएका छन् । यी सबै पूर्व एमालेका नेता हुन् । त्यस्तै, बर्दियामा भुवन थारु, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ, रोल्पामा सुरेन्द्र घर्ती र नवलपरासीमा घनश्याम यादवले अध्यक्ष बन्दै छन् । यी नेता भने पूर्वमाओवादीका हुन् ।

पार्टीको तल्लो कमिटी समायोजनका क्रममा भूगोलका ७७ जिल्लामध्ये ४४ मा पूर्वएमाले र ३३ मा पूर्वमाओवादी केन्द्रका नेतालाई जिल्ला अध्यक्ष दिने गरी अनौपचारिक भागबन्डा गरेका नेकपाले अहिले प्रदेश र जिल्ला कमिटीको संख्याको भागबन्डा सकेर नेतृत्वका विषयमा छलफल केन्द्रित गर्न थालेका छन् ।

पार्टी एकताको तीन महिनासम्म पनि तल्लो कमिटीसम्म एकता हुन नसकेका बेला केन्द्रीय सचिवालयले तल्ला कमिटी र जनवर्गीय संगठन (जवस) मोर्चाको समायोजनका लागि फरकफरक कार्यदल बनाई काम गरिरहेको थियो। कमिटीको संख्या, नेतृत्व र कमिटीमा रहने नेताको नामसहितको सुझाव प्रतिवेदन बुझाउन साउन मसान्तसम्मको समयावधि सचिवालयले दिएपछि कार्यदल तहले अन्तिम तयारी गरिरहेको छ।
शुक्रबारसम्म सबै कार्यादलले आआफ्नो प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइसक्ने गरी तयारी गरिरहेको कार्यदलमा रहेका नेताको भनाइ छ ।
यी हुन् टुंगिएका जिल्ला अध्यक्ष

पूर्व माओवादीका

बर्दिया – भुवन थारू
बाँके – अक्कलबहादुर बम
पूर्वी रुकुम – होमप्रकाश श्रेष्ठ
रोल्पा – सुरेन्द्र घर्ती
नवलपरासी – घनश्याम यादव
पूर्व एमालेका

कपिलवस्तु – झविलाल पोखरेल
अर्घाखाँची – पीताम्बर भुसाल
रूपन्देही – गोपाल भट्टराई
दाङ – शिव आचार्य
प्युठान – तुलसीराम शर्मा
गुल्मी – वाला काउत्छा
पाल्पा – राधाकृष्ण कँडेल
मुस्ताङ – रमेश भट्टचन
मोरङ – ऋषि पोखरेल

प्रकाशित मिति : ३१ श्रावण २०७५ बिहिबार ००:००  ७ : ५८ बजे