१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सामुदायिक विद्यायलमा प्रगति, हुने भयो सिभिल इञ्जिनियरिङ पढाइ



पाल्पा ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुन लागेको हो । सिभिल इञ्जिनियरिङ पढाइका लागि सदरमुकाम तानसेन लगायतका स्थानमा जानुपर्ने विद्यार्थीको बाध्यता थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्कबहादुर पुनले सिभिल इञ्जिनियरिङ विषयको पढाइले धेरै विद्यार्थीले रोजगारी पाउने सम्भावना रहेकाले प्राविधिक विषयको कक्षा सञ्चालन गर्न गएको बताउनुभयो । विद्यालयका प्रअ जनार्दन पाण्डेयले यस वर्ष ४८ जना विद्यार्थीलाई विद्यालयमा पढाउन सकिने गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो । विद्यालयले सबै तयारी पूरा गरेको प्रअ पाण्डेयको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले प्राविधिक शिक्षा अहिले आवश्यकता भएकाले यस विद्यालयल सिभिल इञ्जिनियरिङ पढाइ गरी दक्ष जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने बताउनुभयो ।

प्रकाशित मिति : ४ भाद्र २०७५ सोमबार ००:००  ८ : ५६ बजे